आज एकै दिन १५ लाख रुपैयाँ संकलन

बिर्तामोड । एकका लागि एक अभियान अन्तरगत झापामा जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला पीसीआर ल्याब सञ्चालनका लागि आज एकै दिन १५ लाख रुपैयाँ संकलन भएको छ । झापाको बिर्तामोडको अतिथि सदनमा आयोजित ‘पीसीआर ल्याब स्थापनाका लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम’मा विभिन्न ४५ संघसंस्था एवम् व्यक्तिहरुले उक्त सहयोग रकम सहस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानका हालसम्मका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । अभियान अन्तरगत हालसम्म छ हजार परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । १० हजार जनाभन्दा बढीलाई निःशुल्क खाना, क्वारेन्टिमा रहेकाहरुलाई खानाको व्यवस्था गरिएको छ । त्यस्तै, करिब नौ सय परिवारलाई पुग्ने खाद्यान्न स्टकमा रहेको छ भने कोरोना परीक्षण किटदेखि विभिन्न प्रकारका स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ ।

अगामी साउन १ गतेदेखि कनकाईस्थित समर्पण भवनमा एक करोड २५ लाख रुपैयाँको लागतमा पीसीआर ल्याब स्थापनाका लागि पहल भइरहेको छ जसअन्तरगत हालसम्म करिब एक करोड रुपैयाँ संकलन भइसकेको अभियानका सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिनुभयो । पीसीआर स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ र जिल्ला सहकारी संघको नेतृत्वमा यहाँका विभिन्न सहकारीबाट २५ लाख रुपैयाँ प्राप्त हुनेछ भने जिल्लाका स्थानीय सरकारले लागत सहभागिता जनाउने भएका छन् ।

कार्यक्रममा समाजसेवी गोपालकुमार बस्नेतले मन्तव्य राख्दै पुनित सामाजिक अभियानमा आफ्नो साथ–सहयोग रहनुका साथै अभियानको सफलताको कामना गर्नुभयो । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।