नेकपाका दुई अध्यक्ष आफ्नै अडानमा कायम

काठमाडौं । स्थायी कमिटी बैठक पटक पटक स्थगित गर्दै, नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुईजना अध्यक्ष वान टु वान वार्ताका लागि बसेका हुन् । आज बस्‍ने भनिएको स्थायी कमिटी बैठकसमेत दुई अध्यक्षबीच चर्किएको विवादका कारण स्थगित भएको थियो । स्थायी कमिटी बैठक दुई दिन पर धकेलेर दुई अध्यक्ष वार्तामा बसेका हुन् ।

नेकपा सुत्रका अनुसार, यसअघि पटक पटक भएको वार्तामा उनीहरु आफ्नै अडानमा कायम छन् । प्रधानमन्त्रीसमेत रहेका ओली दुवै पदबाट राजीनामा नदिने अड्डी कसेर बसेका छन् । अर्कातिर दाहाल ओलीलाई दुवै पदबाट विदा गर्ने रणनीतिमा जुटेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको समेत साथ पाएका दाहालले यो पटक ओलीलाई गलाएरै छाड्ने रणनीति बनाएका छन् । तर ओली आगामी महाधिवेशनसम्म अध्यक्षबाट र अबको दुई वर्षसम्म सरकारबाट टसमस नहुने रणनीतिमा छन् ।