नेपालमा थप १८० जनामा कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार ९६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन १८० जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ७१०, प्रदेश २ मा चार हजार १८४, बागमती प्रदेशमा ६३९, गण्डकी प्रदेशमा १ हजार १७५, प्रदेश ५ तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार ५८१ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म छ हजार ८११ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको २६४ संख्या रहेको छ ।

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।