डडेल्धुरामा थैलीसहित बच्चा जन्मियो

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ । ’इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा ’इन काउल बर्थ’ भएको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले शनिबार जुम्ल्याहा सन्तान (छोरा) लाई जन्म दिएकी हुन् । जुम्ल्याहा मध्ये दोस्रोपटक निकालिएका बच्चा पानीको थैलीसहित जन्मिएको डाक्टर शाहले जानकारी दिएका छन् ‌। बच्चाको तौल २.६ किलोग्राम रहेको छ ।

प्रकाश पार्की

संसारमै दुर्लभ मानिने ’इन काउल बर्थ’ गराएका डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाह ।

डाक्टर शाहका अनुसार, यस्तो घटना ८० हजार जन्ममा एउटा हुने गर्दछ । सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा यो थैली आफैँ फुट्ने गर्दछ । तर चिकित्सकले ती बच्चालाई पानीको थैलीसहित बाहिर निकालेका हुन् । थैलीसहित त्यहाँका चिकित्सकले बच्चालाई सकुशल थैलीबाट बाहिर निकालेका थिए । ’परम्परागत विश्वासलाई मान्ने हो भने यसरी जन्मेको बच्चा आत्मिक र जादुगर हुन्छन्, साथै बच्चा र आमा बुवा दुवैका लागि शुभ संकेतको रुपमा हेरिन्छ,’ डाक्टर शाहले भने, ’इन काउलसँगै जन्मेको बच्चा दुर्लभ हुन्छन् र यस्तो जन्म विरलै हुन्छ ।’ स्वास्थकर्मी वा चिकित्सकले पनि आफ्नो जीवनभर यस्तो जन्म मुस्किलले मात्र देख्न पाउने शाहले बताए । उनले भने, ’यदि बच्चा पानीको बेलुनभित्र अर्थात् इन काउलसँगै जन्मेको छ भने आफूलाई भाग्यमानी ठान्नुपर्ने हुन्छ, सफलतापूर्वक शल्यक्रिया गरी यस्तो दुर्लभ प्रसूति गर्न पाएकोमा म आफैंलाई भाग्यमानी ठान्छ ु।’ अस्पतालका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।