सामुदायिक भवन निर्माणमा चरम लापरवाही

गौरीगन्ज । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. २ को कोरोवारीमा सामुदायिक भवन निर्माणमा चरम लापरवाही गरेको पाइएको अनुगमन समितिको आरोप छ । प्रदेश नं.१ को प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तरर्गत रु २० लाख रुपैयाँमा उक्त भवन निर्माण हुन लागेको हो । प्राविधिक इस्टिमेट बमोजिम भवन निर्माण नहुँदा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको बताइएको छ ।

उक्त सामुदायिक भवनको इस्टिमेटमा वेस बिम र टाई विम निर्माण गर्नुपर्ने उल्लेख भए पनि ठेकेदार कम्पनी रितिक कन्ट्रक्सन गौरादहले मनोमानी ढंगबाट भवन निर्माण गर्न लागेको हो । ठेकेदार कम्पनीले वेस विम र टाई बिम बिनै भवनको उत्तर पट्टिको पर्खाल निर्माण गरेको छ।

यही जेठ १३ गते प्रदेश सांसद झलकसिंह दर्लामीले शिलान्यास गरेको उक्त भवनको विम र टाई बिम विना नै भवनको पर्खाल निर्माण गरेको थाहा पाएपछि उपभोक्ता समिति र स्थानियले निर्माण कार्य अघि नबढाउन चेतावनी दिएका थिए । तर कसैलाई थाहै नदिई (उपभोक्ता समितिलाई) ठेकेदार कम्पनिले उक्त निर्माण गरिएको कमजोर पर्खाललाई नै निरन्तर अघि बढाएको गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा सदस्य नेत्र राजवंशीले बताए । स्थानीय र उपभोक्ता समितिले कमिकमजोरीलाई सुधार नगरी निर्माण कार्य अघि नबढाउन भनेपनि एकाएक कसैलाई पत्तै नदिई ठेकेदारले निर्माण कार्य बढाएको वडा सदस्य राजवंशीले बताए । ‘बेस बिम र टाई बिम बिना पर्खाल निर्माण भएको छ र कमसल इँटा प्रयोग भएको वडा सदस्य तथा जग्गा दाता समेत रहेका राजवंशी भन्छन् – भवनको पिल्लरको गहिराई पनि इस्टिमेट बमोजिम छैन्, कुनै पिल्लरको गहिराई २ फिट त कुनैको ३ फिट मात्रै छ ।’

सामुदायिक भवन निर्माणका लागि स्थानीय वडा सदस्य नेत्र राजवंशी र उनकी भाउजु काजली राजवंशीले गरी जम्मा ४ कठ्ठा जग्गा निशुल्कमा दान दिएका हुन् । प्रदेश सरकारले उपभोक्ता समिति मार्फत विनियोजित रकमबाट उक्त जग्गामा ६४ फिट लम्बाई र ३२ फिट चौडाईमा झ्यालसहित पर्खालसम्म, सामुदायिक भवन निर्माण गर्न लागेको हो । सामुदायिक भवन उपभोक्ता समितिका अध्यक्ष कल्याणी राजवंशीले भवन निर्माणका लागि ठेकेदार कम्पनि रितिक कन्ट्रक्सन गौरादहलाई जिम्मा दिए पनि ठेकेदारले आफुखुशी निर्माण गरेको आरोप लगाइन । प्राविधिक इस्टिमेट बमोजिम निर्माण गर्न भने पनि ठेकेदारले समितिलाई कुनै जानकारी नै नगराई आफुखुशी काम गरेको अध्यक्ष राजवंशीले बताइन् ।

गौरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिका स्तरीय अनुगमन समितिका संयोजक दिपिन्द्र थापाले भवनको वेस निमार्ण कार्यको संरचना कमजोर भएको हुदाँ, यस्तो आफुलाई स्वीकार्य नहुने बताए । ‘प्राविधिक इस्टिमेट अनुसार नै ठेकेदारले भवन बनाउनु पर्छ । अनुगमन समितिका संयोजक थापाले भने, ठेकेदार कम्पनिले गरेको कामको मुल्यांक अनुसार मात्र भुत्तानी पाउँछ ।