सत्तारुढ पार्टी भित्रको कलह तल्लो तहसम्म पक्ष, विपक्षमा सहभागि नहुन नेकपा दमकको निर्देशन

दमक । सत्तारुढ पार्टी भित्र चुलिएको विवादले पार्टी तल्लो तहमा पनि प्रभाव देखिन थालेको छ । विशेषगरि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापामा त्यसको प्रत्यक्ष असर देखिन थालेको हो ।

दुई दिन अघि विर्तामोडमा ओली पक्षधरका केहि कार्यकर्ताहरुले ओलीको समर्थनमा प्रर्दशन गरे । ओलीलाई दुवै पदबाट हटाउन दबाब दिईरहेका बेला उनका समर्थकले देशैभरि प्रर्दशन गरिरहेका छन् । पार्टी भित्रनै पक्ष र विपक्षमा कार्यकर्ताहरु समेत विभाजित भएर सार्वजनिक हुन थालेपछि नेकपा दमक नगर कमिटीले त्यस्तो पक्ष,विपक्ष कसैलाई सहभागि नहुन सूचित गरेको छ ।

ओलीका पक्षधरले आज दिउँसो २ वजे दमकको गणतन्त्र चौंकमा प्रर्दशन गर्न लागेपछि त्यसलाई रोक्न पार्टी सचिव तिर्थराज वस्नेत ( शंकर ) ले सामाजिक सञ्जालमा पार्टी स्थायी कमिटीको बैठकमा उठेका छलफलका बिषय लिएर कुनै एक नेतृत्वको समर्थन वा बिरोधमा गरिने कुनै प्रकारको कार्यक्रम नेकपाको आधिकारिक कार्यक्रम नहुने भएकाले सम्पूर्ण जिम्मेवार कमरेडहरु,संगठित सदस्यहरुलाई सुचित गरिएको जनाएका छन् । ओलीको पक्षधर युवा संघका जिल्ला अध्यक्ष शंभु भण्डारीले प्रम तथा पार्टी अध्यक्ष ओलीलाई पार्टी भित्रबाट हटाउन खोजिएको घटनाको निन्दा गर्दे उनको पक्षमा आज दमकमा प्रर्दशन गर्न लागिएको वताएका छन् ।

तर, ओली पक्षधरका भनेर चिनिएका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की ,दमक नगर प्रमुख रोमनाथ ओलीले पनि सामाजिक सञ्जालमा नै प्रम तथा पार्टी अध्यक्ष ओलीको समर्थनमा कडा रुपमा उत्रिएका छन् । उनले ओलीका कारण पार्टी र देशले शुसासन र विकास प्राप्त गर्न सफल भएको भन्दै राजीनामा माग्ने कार्य उचित नभएको जिकीर गरेका छन् ।