द्रुत गतिमा मन्त्रिपरिषद बैठक : मन्त्री पुग्न नपाउँदै निर्णय
काठमाण्डौं । बिहीबार मन्त्रिपरिषद बैठक यति छिटो सकियो कि बैठकमा कतिपय मन्त्रीहरू नै पुगेका थिएनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै थिए । गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत कतिपय मन्त्री पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकियो । यति द्रुत गतिमा सकिएको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन् ।
आफू पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकिएको पर्यटन मन्त्री योगेश भट्टराईले सेतोपाटीलाई बताए । यस्तै स्थायी कमिटी बैठकमा बसेका गृहमन्त्री बादल र बन मन्त्री बस्नेत पनि मन्त्रिपरिषद बैठकमा पुग्न पाएका थिएनन् । स्थायी कमिटी बैठक सुरू गर्न ढिलो भइसक्दा पनि प्रधानमन्त्री नआएपछि बुझ्न बादल र बस्नेतलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएका थिए । तर उनीहरू पुग्नु अघि नै मन्त्रिपरिषद बैठक सकिएको थियो ।