संसद अधिवेशन अन्त्य गरिएकोमा विपक्षी दलको आपत्ति
काठमाडौं । सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गरिनुलाई दुःखद् भनेको छ । काँग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गरेको छ । यो दुःखद् छ हो ।’ असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले, प्रधानमन्त्री केपी ओली राजीनामा दिन माग्दै आएका छन् । त्यही अनुसार दुबै पक्षमा आफ्नो आन्तरिक रणनीतिमा जुटेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको उनको बुझाइ छ । संसद अधिवेशनबारे सरकार पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको उनले बताए । रिजालले भने, ‘यस विषयमा थप हामीलाई जानकारी छैन । हामीसँग छलफल पनि भएको होइन । विस्तृत जानकारी बेगर यसमा थप टिप्पणी गर्नु उपयुक्त हुँदैन । थप जाकारी पाएपछि विस्तृत रुपमा टिप्पणी गर्छु ।’
यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले पनि संसद अधिवेशनको अन्त्यको सिफारिस गर्दा आफूहरुलाई सामान्य जानकारीसम्म नआएको बताए । पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको भन्दै उनले आपत्ति जनाए । यस्तै विपक्षी दल जनता समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महताले यसलाई अधिकारको दुरुपयोग भनेका छन् । उनले भने, ‘यो अधिकारको दुरुपयोग हो । जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था स्थगन गरेर जनताको आवाज बन्द गर्न खोजिएको हो ।’ सरकार निरंकुशतातर्फ गइरहेको महतोको बुझाइ छ । उनले भने, ‘संसदको समाना गर्न नसकेर प्रधानमन्त्रीमा संसद अधिवेशन अन्त्य गराउनु भयो । अब जे गरे पनि भैगो । कानुनका लागि अध्यादेश ल्याउन पाइउने भयो । यो निरंकुशतातर्पmको बाटो हो । जनताको आवाज दबाउने र जे मन लाग्यो त्यही गर्नु खोज्ने कुरा स्वीकार्य हुँदैन ।’ निरंकुश शासकसँग लोकतन्त्र र नियम कानुनको आशा गर्नु बेकार भएको उनले बताए । संसद अधिवेशन अन्त्य गरेपनि सरकार नजोगिने महतोको जिकिर छ । उनले भने, ‘संसद अधिवेशन अन्त्य गरेर सरकार जोगिँदैन । किनभने संसदको अधिवेशन बोलाउने अधिकार संसदलाई हुन्छ । साथै जनताको आवाज दबाउन अधिकारको दुरुपयोग गर्ने काम भएको छ ।’ जस्तोसुकै निरंकुश शासकलाई जनताले फालेको भन्दै यस्तो निरंकुश शासन नचल्ने महतोले बताए । काँग्रेस सांसद गगन थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गरिनुलाई विनासकाले विपरित वुद्धिको संज्ञा दिए । उनले भने, ’संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड(१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन । पार्टीभित्रको किचलोको अचानोमा संसद ?’ संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि थापाले आग्रह गरे ।