आइतबार नेपालमा बढे ४६३ जना संक्रमित

काठमाडौं । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन् । आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ । आज देशभरीका विभिन्न क्वारेन्टिनमा क्वारेन्टिनमा ६१ हजार ७ सय ३१ जना रहेका छन्। यस्तै ९ हजार ७ सय ३१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।