नेपालमा शुक्रबार थपिए ५ सय ९३ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शुक्रबार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
यस्तै, बुधबार एक महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरे पनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको बताए । अन्दाजी २५र ३० वर्षिया महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको उनले बताए ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार ४८ गरी अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।