हल्दिवारी गाउँसभामा आक्रमण अध्यक्षकै पूर्व योजना : उपाध्यक्ष गिरी
भद्रपुर । झापाको हल्दिवारी गाउँपालिकाको सातौं गाउँ सभा चलिरहेको बेला भएको आक्रमण अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको पूर्व योजना अनुसार भएको उपाध्यक्ष डम्बरबहादुर गिरीले आरोप लगाएका छन् ।
गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनको निर्देशनमा वडाध्यक्ष होमप्रसाद चुडाल समेतको सहभागितामा अध्यक्ष लिङ्देनले गाउँ सभा बिथोल्ने नियतका साथ गुण्डागर्दी शैलीमा अराजक व्यक्तिको भीड बटुलेर आक्रमण गराएको आरोप लगाएका हुन् ।
उपाध्यक्ष गिरीले गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्र भएको प्रमाणका रूपमा ज्ञापनपत्र बुझाउने व्यक्तिले राखेको माग ज्ञापनपत्र नआइकन वजेट विनियोजनको असन्तुष्टि र चारकोशे जंगलको सिमाना जोड्ने सडकको बारेको असन्तुष्टि भन्दै सभा छोडेर भाग्न खोज्नु गाउँसभा बिथोल्ने सुनियोजित आक्रमण रहेको प्रष्ट्याए । गिरीका अनुसार अध्यक्षले चलिरहेको सभा विर्सजन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै आफ्नु कोठाको टेबुल समेत फुटाएर गाउँपालिकाबाट बाहिरिएका थिए । तर, अध्यक्ष लिङ्देनले उपाध्यक्षको नेतृत्वमा आक्रमण भएको भन्ने भ्रम फैलाएर आफ्नो गल्ती लुकाउन खोजेको आरोप लगाउँदै उपाध्यक्ष गिरीले खेद प्रकट गरेका छन् । उनले तिघ्रे पाखुरेको गुण्डागर्दीले बहुमतको निर्णय नउल्टने भन्दै आफ्नो कार्यालय भत्किएकोले कार्यकक्ष विहिन भएको दुखेसो पोखे । गिरीले गाउँपालिकाको सम्पत्ति तोडफोड भएकोले भत्काउनेले नै निर्माण गर्नु पर्ने अडान राखे ।
कार्यक्रममा वडा नं ३ की अध्यक्ष रोशन शिवाकोटीले गाउापालिकामा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका भए पनि अल्पमतमा परेका सवैको भावना अनुसार वजेट तथा नीति र कार्यक्रम तय गरिएको जानकारी दिइन् । सवै जनप्रतिनिधिले हल्दिवारीको समृद्धिको जिम्मेवारी पाएको स्मरण गर्दै उनले आपसको कलहले गउँपालिकाको विकासमा बाधा पुर्याउने प्रष्ट पारेकी छिन् ।
कार्यक्रममा १ नम्बरका वडाध्यक्ष त्रिलोचन सापकोटा, ३ की अध्यक्ष रोशन शिवाकोटी १ देखि ४ सम्मका वडा सदस्यहरू लगायत नेकपाका स्थानीय नेता कार्यकर्ताको बाक्लो पस्थिति रहेको थियो ।