हल्दिवारी टोडफोडको जिम्मा उपाध्यक्ष गिरीले लिनु पर्ने : लिङदेन
भद्रपुर । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले असार १० गते गाउँ सभामा भएको आक्रमणको जिम्मेवारी उपाध्यक्ष डम्मरबहादुर गिरीले लिनुपर्ने बताएका छन् ।
कार्यालयमा पत्रकार सम्मेलन गर्दै लिङदेनले बजेट बाँडफाँड तथा चारकोसे जङगलको बाटाको नामाकरण गर्ने क्रममा गिरीले बहुमतको बल देखाएर विपक्षी आवाज दवाउन खोज्दा कार्यालय तोडफोड भएको भन्दै जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
गिरीको नेतृत्वमा वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, ४ का वडा सदस्य महेशलाल मेचे, कार्यपालिका सदस्य सागर पार्तेलले गाउँसभा चलिरहेका बेला नीति तथा कार्यक्रम पास गर्नै पर्ने भन्दै आफु लगायत वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुडाल र ५ का अध्यक्ष शेरबहादुर नेवाङ समेतलाई हातपात गरी अवद्र व्यवहार गरेको भन्दै नेकपाको बहुमतको आड लिएर कानून हातमा लिने काम भएको आरोप लगाए । उनले गाउँपालिकामा तोडफोड गर्ने काम उपाध्यक्षकै नेतृत्वमा भएकोले कानूनी कारवाहीका लागि आफु प्रहरी प्रशासनमा जाने समेत जानकारी दिए ।
चलिरहेको सभामा केही गाउँ सभा सदस्यहरुले नीति तथा कार्यक्रम अध्ययन गर्न समय मागेकोले असार २९ गते बजेट प्रस्तुत गर्ने मौखिक सहमति विपरित उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा बजेट पास गरेको निर्णय प्रमाणीकरण गरिएको भन्ने कार्य कानून विपरित भएको बताए । उनले गाउँ सभा संचालन नियमावली २०७५ अनुसार अध्यक्ष हुँदा हुँदै आक्रमण गरेर सभा स्थलबाट भगाई बजेट पास गराउने काम कानूनी राज्य माथिको चुनौती भएको समेत प्रष्ट पारेका छन् ।
वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुडाल नेकपाका सदस्यहरुले बहुमतको बल देखाएर विभेद गर्दै ४ र ५ नं. वडालाई कम बजेट दिने जलथलको चारकोसे जङगलको मौलिक पहिचान गुम्ने गरी सडकको नामाकरण गर्ने जस्ता कार्यहरुले हल्दिवारी गाउँपालिकामा द्वन्द्व सिर्जना भएको भन्दै उपाध्यक्षबाट भएको कमचोरी नसचिए सम्म गाउँपालिकाले जनपक्षीय काम हुन नसक्ने बताए । उनले नेकपा बाहेकले जितेका वडामा बजेट घटाउने कामले हल्दिबारीका स्थानीयमा विभेद सिर्जना गर्ने काम भएकोले त्यस्तो कार्य नरोकिए जनविद्रोह बढ्ने समेत चेतावनी दिए ।
यसै बिच हल्दिबारी गाउँपालिका तोडफोड सम्बन्धमा नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको बहुमतको आडले लोकतान्त्रिक विचार माथि दमन गर्दै गाउँपालिकाका बासिन्दालाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।
काँग्रेस सभापति दिलिप मावो र राप्रपा अध्यक्ष एकराज राना मगरले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–“उपाध्यक्ष डम्मर बहादुर गिरीको नेतृत्वमा गाउँ सभा भित्र घेराबन्दी गरी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, ४ नंं. वडाध्यक्ष होम प्रसाद चुडाल र ५ नं. वडाध्यक्ष शेर बहादुर नेवाङलाई घेराबन्दीमा पारी आक्रमण गर्ने कार्य निन्दनिय भएको ठहर गरिएको छ ।” यस्तै विज्ञप्तिमा उपाध्यक्षको नेकपाका जनप्रतिनिधिहरुले शान्ति पूर्ण रुपमा माग पत्र लिएर आएका गाउँ बासीलाई गरिएको आक्रमणबाट ३ जना घाइते भएको भन्दै पराजग गतिविधि रोक्न माग गरिएको छ ।