हल्दिवारीमा गाउँपालिका अध्यक्षविना प्रस्तावित वजेट पारित
भद्रपुर । झापाको हल्दिवारी गाउँपालिकाको बहुमत सदस्यद्वारा प्रस्तावित वजेट नीति तथा कार्यक्रम अध्यक्षको उपस्थिति विनै पारित भएको छ ।
गाउँ सभा चलिरहेको बेला केही अराज व्यक्तिहरूको समूहले आक्रमण गरेपछि गाउँपालिका अध्यक्ष सभा छोडेर विना जानकारी बाहिरिए लगत्तै बहुमत सदस्यले उपाध्यक्षको नेतृत्वमा सभा सञ्चालन गरी प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको हो ।
उपाध्यक्ष डम्बर गिरी सहित १८ जना जनप्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाको कार्यालयमा चलिरहेको गाउँ सभा विथोल्न आएका अराजक व्यक्तिको समूह गाउँपालिका अध्यक्ष रवीन्द्रकुमार लिङ्देनले ल्याएको आरोप समेत लगाइएको छ । सो विज्ञप्ति अनुसार गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्रमा ज्ञापनपत्र बुझाउने बाहनामा गाउँसभा बिथोल्न आक्रमण भएको हो । अध्यक्षले चलिरहेको सभा बिर्सजन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै गाउँपालिकाबाट बाहिरिएपछि गाउँसभा सञ्चालन कार्यविधि २०७५ को दफा १६को उपदफा ५ अनुसार उपाध्यक्ष डम्बरबहादुर गिरीलाई सभाध्यक्ष बनाई प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको विज्ञप्तिमा जनाइएको छ ।
यता गाउँपालिका अध्यक्ष रवीन्द्रकुमार लिङ्देनको मोवाईलमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको रीस पोख्न गाउँ सभा बिथोल्न लगाएको हुन सक्ने जनप्रतिनिधिहरू नै बताउँने गर्छन् । यस सभाका बेला पनि सभाहलमा सहभागी सवै जनप्रतिनिधि बीच कुनै मतभेद नदेखिएका बेला बाहिरबाट आक्रकण हुनु रहस्यमय मानिएको छ ।