कोरोना फैलिने आशङ्कामा झापाको कनकाई नगरपालिका सिल
कनकाई । कोरोना भाइरस संक्रमण समुदायमा फैलिने आशङ्कामा झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ । नगरपालिकामा बसेको आकस्मिक बैठकले एक सूचना जारी गर्दै आज सोमवार दिउँसो १२ बजेदेखि असार १३ गते शनिवार राती १२ बजेसम्मलाई स्वास्थ्य क्षेत्र बाहेक सबै क्षेत्रलाई बन्द गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिका ७ दुर्गापुर स्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलालाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिला कुवेतबाट गत असार ३२ गते झापा फर्किएकी थिइन । झापा घर फर्किएका ती महिला क्वारेन्टाइनमा बसेकी थिइन् ।
तर क्वारेन्टाइनमा बसेकी ती महिलासँग एक बालकसहित उनका आफन्त केही घण्टा उनीसँगै बसेर खेलौना लिएर घर गएको जानकारी प्राप्त भएपछि समुदायमा कोरोना फैलिन सक्ने आशङ्का नगरपालिकाले गरेको छ । क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीको खुट्टा मर्किएपछि उनी केही समय अन्यत्र गएको बेलामा कोरोना सङ्क्रमित युवतीका आफन्त बालकले भेट गरेका थिए । क्वारेन्टाइन बसेकी ती सङ्क्रमित महिलाको घर नजिकै रहेको छ । त्यही भएर नगरपालिकाले वडा नम्बर १ देखि ७ सम्मका सबै वडा सिल गर्न निर्णय गरेको जनाइएको छ ।
ती महिलाको सम्पर्कमा आएको कन्टेक्ट टेसिङ्ग गर्नु पर्ने भएकोले नगरपालिकाभित्र उच्च सतर्कता अपनाउनुका साथै नगर नै सिल गर्न निर्णय गरिएको नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । आज दिउँसोबाट नगरपालिका भित्र सञ्चालनमा औषधि पसलबाहेक सम्पूर्ण पसल, बैङ्क तथा वित्तीय संस्था लगायत सबै क्षेत्र बन्द गर्न लागिएको उनले बताए । कनकाईमा ती महिलासहित चार जनामा कोरोना पुष्टि भइसकेको छ । अन्य तीन जना भारतको कानपुरबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।