दमकको रतुवा नदीमा सिग्नेचर पुल बन्ने

दमक । झापाको दमकस्थित रतुवा नदीमा ‘सिग्नेचर पुल’ बनिने भएको छ । योसंगै देशभरमा दश वटा सिग्नेचर पुल बनिने जनाईएको छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने छ । ‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने ‘आर्क ब्रिज’ समेत भनिने यस्ता पुल पर्यटकीय दृष्टिले समेत आकर्षक हुने गर्छन् ।

सडक विभागका अनुसार दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको छ । जसमध्ये झापाको दमकस्थित रतुवा खोलासहित चितवनको नारायणी नदी ,कास्कीको विजयपुर खोला ,मोरङको गछियाखोला , धनकुटाको तमोर नदी ,धनकुटा सडक धरान, काठमाडौँको बाग्मती नदी, बुटवलको तिनाउ नदी , भैरहवाको रोहिणी नदी , बकैया नदी मकवानपुर र सर्लाही–रौतहटको बाग्मती नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो । सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ । पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिए ।