झापामा आज ६ जनामा कोरोन संक्रमण पुष्टि

भद्रपुर । झापामा दुई वर्षीया बालिकासहित ६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका छन् । उनीहरु भारतको बिहारबाट फर्किएका हुन् ।

यसैगरी कनकाई नगरपालिका वडा नम्बर ७ की एक महिलामा पनि संक्रमण देखिएको छ । उनी कुवेतबाट फर्किएकी हुन् । मेचीनगर नगरपालिका वडा ५ र ६ का एक एक जना पुरुषमा पनि संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाई जानकारी दिए । संक्रमित सबै स्थानीय क्वारेन्टिनमा बसेका थिए । उपचारका लागि दुई महिला र बालिकालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तीन जना पुरुषलाई गोठगाउँ लगिएको फोकल पर्सन चम्लागाईले बताए । योसंगै झापामा संक्रमितको संख्या १८९ पुगेको छ ।