यसरी बनायौं नेपालको पहिलो नक्सा : सत्यमोहन जोशी

प्रस्तुतिः गिरीश गिरी

नेपालको पहिलो नक्सा हामीले २००६ सालमै तयार पारेका थियौं । त्यही नक्सा २०१४ सालको मुलुककै पहिलो आधुनिक जनगणना प्रतिवेदनमा छापिएको थियो । त्यो बेलाको सीमित साधन र प्रविधिका कारण नक्साको स्वरूप जे(जस्तो भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रै सरहदभित्र पर्थे । त्यसको प्रमाण त दोश्रो जनगणनाका बेला त्यहाँ पुगेका भैरव रिसालजीका कथनहरू आइसकेका छन् । त्यसैगरी राज्यले बुझेका तिरोहरूको प्रमाण पनि प्रस्तुत गर्न सकिन्छ ।

पहिलो नक्सा निकाल्नु आफैंमा संघर्ष थियो । त्यो प्रक्रिया‍ सुरूआत यसरी भएको थियो । बि.सं.१९९५ सालमा भिमबहादुर पाँडे एम.कम पास भएर आएपछि उनका निम्ति उपयुक्त जिम्मेवारीको खोजी हुँदै थियो । त्यसैअनुसार जुद्धशमशेरबाट ’प्रोफेसर’को दर्जा पनि पाए । तर, उनको योग्यता मुताबिक काम पठनपाठनका क्षेत्रमा नभएकाले ’औद्योगिक सर्भे’का काममा उनी संलग्न भए । त्यो बेलासम्म सर्भे भन्ने शब्द प्रचलनमै थिएन। पाँडेले त्यसनिम्ति पूर्व एक नम्बर रोजे । प्राकृतिक, सामाजिक, आर्थिक सबैखाले श्रोत अध्ययन गर्ने क्रममा धेरै उपयोगी कुरा फेला परे। कतै नभएको खैरो कपास पनि त्यतै भेटियो । अन्त सबैतिर सेतो कपास मात्र भेटिन्थ्यो । मानिसहरू नैनसुतलाई ’कोगटे’ गरेर (रंग्याएर) लुगा लगाइरहेका बेलामा कपासै खैरो पाउनु गजबको खोजी बन्यो । त्यो बेला त्यतातिरका कपास भक्तपुरसम्म आउँथ्यो । भक्तपुरमा कपडा बनाइएपछि त्यसलाई बेच्न इन्द्रचोक ल्याइन्थ्यो । मन्दिरका पेटीभरि कपडा बिसाएर बेच्न ल्याउनेहरू पनि सबै तिमालतिरकै महिला हुन्थे ।

त्यस समय उद्योग परिषदका महानिर्देशक विजयशमशेर थिए । पाँडेसँगै स्नातकोत्तर गरे पनि मोहनशमशेरका छोरा भएकाले विजयशमशेरले उत्तिखेरै जागिर पाएका थिए । जे होस्, पाँडेको रिपोर्ट पाएपछि विजयशमशेर असाध्यै प्रभावित भए । त्यसपछि रिपोर्ट चिफ साहेब अर्थात् पद्मशमशेरदेखि प्रधानमन्त्री जुद्धशमशेर सबैतिर पुग्यो । सबै खुसी भए । परिणाम स्वरूप अब एउटा नयाँ अड्डा नै खडा गरेर मुलुकभरि यस्तै किसिमको काम गर्न पाँडेलाई जिम्मेवारी सुम्पने निर्णय गरियो । यसरी नेपालमा ’औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ जन्मियो । त्यस अड्डामा आवश्यक अधिकृतहरू भर्ना गर्ने काम पनि नेपालको इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट भएको थियो । अहिले लोकसेवाको झलक दिने त्यो प्रतिस्पर्धाअघि सरकारी सेवामा आफन्त मात्र भर्ना गरिन्थे ।

त्योताका गोरखापत्र साप्ताहिक रूपमा सानो आकारमा छापिन्थ्यो । त्यसैमा उक्त अड्डाको निम्ति ’पाँच जना अफिसर’ (कर्मचारी आवश्यकता) को सूचना छापिएको म अहिले पनि सम्झन्छु । सूचनामा ’बिएसम्म पढेका इच्छुकले दरखास्त हाल्नू’ भनिएको थियो । त्यो २००० सालको अन्तिमतिरको घटना हो । त्रिचन्द्र कलेजमा सँगसँगै बिए पढिरहेका म र नरकान्त अधिकारी दुवैले त्यसमा रोजगारीका निम्ति आवेदन हाल्यौं । त्यो बेला बिए पढेको मानिस पाउनु असाध्यै गाह्रो कुरा थियो । हाम्रो नाम निस्कियो र अन्तर्वार्तामा गयौं । अन्तर्वार्तापछि छानिनेमा म थिइनँ । नैनबहादुर खत्री (पछि प्रधानन्यायाधीश), दार्जिलिङ तिरका धनबहादुर अधिकारी, केशरबहादुर कर्माचार्य, थीरबहादुर रायमाझी र नरकान्त अधिकारी गरेर पाँच जना छानिएका थिए । यीमध्ये केवल थीरबहादुर रायमाझीमात्र बिए पास गरेका थिए ।

छानिए‍ पनि नैनबहादुर खत्रीले भने जागिर नखाने भए । उनका पिता त्यति बेला मुलुककै एक मात्र भेटेनरी चिकित्सक थिए । उनले छोरालाई भारततिर उच्च शिक्षानिम्ति पठाउने इच्छा राखे । त्यसैअनुसार जर्नेल शंकरशमशेरलाई बिन्ती चढाएपछि पढ्न पठाउने अनुमति पनि प्राप्त भयो । यस्तो अवस्थामा त्यो जागिरका लागि मेरो ढोका खुलेको थियो । मेरो नियुक्तिसँगै हामी पाँच जना अधिकृतले काम गर्न थाल्यौं ।

सुरूमा भिमबहादुर पाँडेले नै हामीलाई तालिम दिए । पाँच, छ वटा अड्डा पनि घुमाए । यसरी पाएको तालिमअनुसार हामी गाउँगाउँ खटिएर तथ्यांक संकलनको काममा लाग्यौं । मलाई पश्चिम तीन नम्बरमा खटाइएको थियो । अहिलेको हिसाबले भन्ने हो भने त्यो क्षेत्र तनहुँ, लमजुङ र कास्की पर्छ । त्यतिबेलै मैले मुलुक देख्ने मौका पाएँ । फरक मानिस, फरक परिवेश र फरक संस्कृति बुझेँ । वन र वन्यजन्तुसँग रमाएँ । सुनेका लोकगीत टिप्न थालेँ । काठमाडौं आएर रेडियो नेपालमा गाउने काम पनि गरेँ । पछि त्यसैले मलाई साँस्कृतिक अन्वेषणका क्षेत्रमा अघि बढायो र यतैतिर मेरो पहिचान कायम भयो ।

त्यो बेला औद्योगिक व्यापारिक समाचार संग्रह अड्डामा काम गर्दागर्दै हामीले अर्को एउटा राम्रो अवसर पायौं । त्यो थियो, भारतको नयाँदिल्लीमा गएर तथ्यांक संकलनको आधुनिक तरिकाबारे तालिम लिने । त्यो तालिम संयुक्त राष्ट्रसंघको जनसंख्या विभागले आयोजना गरेको थियो । राष्ट्रसंघले संकलनमा एकरुपता अपनाउँदै पहिलोपटक संसारभरकै जनसंख्या निकाल्न खोजेको रहेछ । त्यसैको तालिमका निम्ति नेपालबाट छ जना मानिस मागिएको थियो । हामी पाँच जनाबाहेक एकजना कृषितिरका अधिकृत पनि थिए । यो भनेको राणाकालको अन्तिम क्षणतिरको कुरा हो । यसरी तालिम लिएर आएपछि अब हाम्रो काम ’औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’का निम्ति मात्र नभई राष्ट्रसंघका निम्ति उसको हिसाबले जनसंख्याकै तथ्यांक संकलन गर्ने भयो । त्यसअघि पनि हामीकहाँ जनसंख्याको तथ्यांक लिने काम नगरिएको होइन । तर, ती असाध्यै कामचलाउ थिए ।

त्यति बेला नेपालको ’जनसंख्या अड्डा’ एकजना खरिदारका भरमा दुई(तीन जना कारिन्दा राखेर चलिरहेको थियो । त्यस्तो अवस्थामा हाम्रो ’औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ र ’जनसंख्या अड्डा’लाई एकै ठाउँमा राखेर नयाँ अड्डा कायम गर्ने निधो भयो । त्यसको नाम राखियो ’संख्या विभाग’ । कोलकातातिर त्यो बेला ’स्टाटिस्टिक्स’ विभागलाई ’तथ्यांक’ नभनी ’संख्या’ नै भनिएकाले त्यसैअनुसार यता पनि गरिएको थियो । अहिलेको ’केन्द्रिय तथ्यांक विभाग’ हाम्रो उति बेलाको त्यही ’संख्या विभाग’को वर्तमान रूप हो ।

यसरी मुलुकको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरसँग मिल्नेगरी आधुनिक तथ्यांक संकलन गर्ने काम पनि हामीबाटै भयो । तथ्यांक संकलन गर्न पहिले जेजस्तो तरिका अपनाइए पनि अब हामीलाई हाम्रो सिमाना कहाँ हो भन्ने जानकारी हुनु जरुरी थियो । जिल्ला, प्रगन्ना, टप्पा भन्ने गरिए पनि तिनकै सिमाना थाहा थिएन । मुलुकको सिमाना कहाँ छुट्टिन्छ भन्ने त झन् थाहै थिएन । त्यसैले मुलुककै नक्सा चाहियो । तर, त्यति बेलासम्म हामी नेपालीले नेपालको नक्सा बनाएकै थिएनौं । राष्ट्रियदेखि लिएर जिल्ला(जिल्लासम्म छुट्टिएका नक्सा एकपटक तयार पार्ने हो भने त्यसले धेरै काममा मद्दत मिल्छ भन्ने हामीलाई लागिरहेको थियो । स्वास्थ्य, शिक्षादेखि लिएर चुनावीसम्म सबै कुराका निम्ति योजना गर्न त्यो उपयोगी हुन्थ्यो ।

नक्सा त चाहियो तर कसरी तयार पार्ने ? उपाय खोजी गर्न थाल्यौं। त्यो बेला मुन्सीखाना (परराष्ट्र मन्त्रालय)मा नक्सा छ भन्ने सुइँको पाइयो। हामी गएर कुरा ग¥यौं । त्यहाँ पनि कताकताबाट के,के कुरा ल्याएर कुन ठाउँमा कोचेर राखेको छ भन्ने हिसाब(किताब थिएन । ’हुन त होला । तर, खोज्नुपर्छ’ भने । यसरी खोज्दा रोल गरेर राखिएको नक्सा फेलापर्यो । त्यो अंग्रेजले बनाएको भारतको नक्सामा नेपालतर्फको हिस्सा थियो । अंग्रेजले भारतको नक्सा बनाउँदा सिरानमा पर्ने नेपाल, सिक्किम र भुटान पनि समेटेका थिए । तिब्बतलाई किनार,किनारमा छोएको भए पनि त्यतातिरको उल्लेख थिएन । यसरी २७–२८ टुक्रामा अटाएको नेपालको नक्सा हाम्रो हात लाग्यो ।

नेपाललाई कहिल्यै यसरी नक्सामा नदेखेका हाम्रोनिम्ति त्यो पहिलो अनुभव गजबको थियो । त्यो एक इन्च बराबर चार माइलको नक्सा थियो । यसरी नक्साका २७–२८ वटै टुक्रा एकै ठाउँमा मिलाएर राख्ने हो भने झन्डै २५ फिट लामो हुन्थ्यो । हामीले त्यो टुक्राटुक्रा नक्सा ल्याएर नैनसुतमाथि टाँस्यौं र एउटै बनायौं । त्यो राखेर हेर्न हामीले त्यतिकै ठूला टेबल पनि बनाएका थियौं । अब त्यो नक्सा मात्र भएर हुन्थेन । त्यसमा सिमाना छुट्टिनु पर्थ्यो । पेन्टोग्राफको प्रयोगले थप चार गुणा ठूलो बनाउन सकिन्थ्यो । त्यसरी हामीले नै गोरखा, लमजुङ र कास्की कहाँनिर छुट्टिन्छ भनेर सिमाना अलग पारिदियौं । त्यसैगरी त्यो नक्साले देखाएको र हामीसँग भएका आधार राखेर अन्तर्राष्ट्रिय सिमाना पनि खिच्यौं । यसरी मोटामोटी नक्सा तयार भयो । एकजना मकहाँ बराबर आइरहने दिलबहादुर चित्रकार थिए । उनलाई त्यो नक्सा हेरेर चित्रमा उतार्न लगाएँ । त्यसनिम्ति मखनका एक जना चित्रकारकहाँबाट ठूलो बेलायती क्यानभासहरू ल्याएको थिएँ । रातदिन लगाएर जिल्लैपिच्छे तिनका मौजासमेत छुट्टिनेगरी नक्सा कोर्न लगाएँ । त्यसैमा अवस्थितिअनुसार मुख्य गाउँहरू पनि उल्लेख गर्न लगाएँ । त्योबेलाको नक्सामा दार्चुलाको लिम्पियाधुरा पनि लेख्न लगाएको मलाई अहिले पनि सम्झना छ । खोजी गरे त्यो नक्सा अहिले पनि तथ्यांक विभागमा भेटिन सक्छ । हामीले काली नदीको हिसाबले नै त्यो पछ्याएका थियौं ।

तयार भएको नक्सा जति हे¥यो, त्यति राम्रो लाग्न थाल्यो । जिल्ला मात्र होइन, गाउँहरू समेत कहाँ पर्छ भन्ने त्यसमा उल्लेखित थियो । चित्रकार लगाएरै बनाएकाले हेरुन्जेल पनि झिलिमिली लाग्थ्यो । त्यतिबेलै त्रिपुरेश्वरमा एउटा ठूलो प्रदर्शनी भएको थियो । घरेलु तथा साना उद्योग कार्यालयको चौरमा आयोजित त्यो विशाल प्रदर्शनी परोपकार संस्थाले गरेको हो कि जस्तो लाग्छ । हामीले यस्तो राम्रो नेपालको नक्सा पहिलोपटक तयार पारेपछि त्यसलाई प्रदर्शनीमा राख्ने निष्कर्षमा पुग्यौं । आयोजक पनि उत्साहित भए । त्यो नक्सा हेर्न नेपालमा कुन ठाउँ कहाँ छ भन्ने पत्तो नपाएका मानिसहरूको भिड लाग्यो । त्यो प्रदर्शनीमै राखिएका वस्तुमध्ये सर्वाधिक रुचाइएको आधारमा नेपालको नक्साले प्रथम पुरस्कार पनि पायो । संख्या विभागमा स्वर्ण पदक आएको थियो । त्यही नक्सालाई आधार बनाएरै हामीले मुलुककै पहिलो आधुनिक जनगणनाको रिपोर्ट त्यसको करिब सात वर्षपछि अर्थात् बि.सं. २०१४ सालमा तयार पारेका थियौं ।

नेपालको पहिलो नक्सा तयार पार्दा हामीलाई सिमाना सम्बन्धी कुनै बाधा अवरोध आइपरेको थिएन । त्यो बेला त्यस्तो विवाद हुने अवस्थै थिएन । तिब्बत चीनको नियन्त्रणभित्र आइसकेपछि र चीनसँग भारतको लडाइँ सुरू भएपछि बल्ल यी सीमावर्ती भेगप्रति चासो बढेको हो । बरू ब्रिटिश भारतले उति बेला आफ्नो नक्सा निकाल्दा त्यसमा नेपाल पनि उल्लेख गरिदिएकै कारण पहिलो नक्सा निकाल्न हामीलाई मद्दतै पुगेको थियो । यी सब मामिलामा त्यो उदार समय थियो, जसलाई अहिलेको परिस्थितिसँग दाँज्न मिल्दैन । —साभार सेतोपाटी