पिसिआर ल्याव मेची अस्पतालमै राख्ने : मन्त्री आङ्बो

बिराटनगर । झापाको भद्रपुरस्थित मेची अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना हुने भएको छ । प्रदेश सरकारले त्यहाँ पीसीआर ल्याब सञ्चालनको प्रक्रिया अघि बढाएको हो । प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा कोसी अस्पताल विराटनगर र प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण ल्याब सञ्चालनमा छन् । झापामा सरकारीस्तरबाट भद्रपुर र दमकमा दुईवटा थपिए प्रदेशमा पीसीआर ल्याबको संख्या पाँच हुनेछन् ।

मेची अस्पतालमा कोरोना परीक्षण ल्याव स्थापनाका लागि सरकारको तयारीबारे प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेशसभामा आज जानकारी गराएका छन् । बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बोले प्रदेशभर जम्मा पाँचवटा पीसीआर ल्याब सञ्चालन गर्ने सरकारको योजनाअनुरूप मेची अस्पतालमा पनि काम अघि बढेको बताएका हुन् । मन्त्री आङ्बोले भने, “मेची अस्पतालमा पीसीआर ल्याब राख्ने तयारी सुरु भइसक्यो । अर्को ल्याब झापाकै दमकमा राख्ने भन्ने पनि छलफल भइरहेको छ ।” दमकमा ल्याब राख्ने पूर्वाधार भएको तर यसबारे निर्णय भने हुने बाँकी रहेको मन्त्री आङ्बोले जनाए ।

यसैबीच, जनस्तरबाट पनि झापामा पिसिआर परीक्षण ल्याब सञ्चालनका लागि आर्थिक संकलन भइरहेको छ । एकका लागि एक अभियानको संयोजनमा पिसिआर ल्याव राख्न ८० लाख रुपैयाँ जुटाइसकिएको संयोजक महेन्द्रकुमार गिरीले जनाएका छन् ।