तस्करीको रजनीगन्धा र तुलसी बरामद

सशस्त्र प्रहरीमाथि छानविन गर्न डिआइजीको निर्देशन

भद्रपुर । सीमा नाका सिल भएको अवस्थामा पनि झापाको भद्रपुर नाकाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको घटना बाहिरिएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीले यसतर्फ चासो देखाएको छ । सशस्त्र प्रहरीकै सेटिङमा तस्करीको बिषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी नगेन्द्रबहादुर थापाको गम्भीर ध्यानाकर्षण भएको छ ।

१ नम्बर बराह बाहिनी मुख्यालयले शुक्रवार सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई प्रकाशन भएको समाचारको कटिङसहित घटनाको सत्यतथ्य छानबिन गर्न लिखित निर्देशन दिएको छ । बराह बाहिनी मुख्यालयले निर्देशन दिएपछि सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रेसमकुमार थक्सुले डिएसपी कृष्ण श्रेष्ठको नेतृत्वमा शनिवार छानबिन समिति गठन गरेको बताइएको छ । अब छानबिन समितिले भद्रपुर नाकाबाट भएको तस्करीको विषयमा सशस्त्र प्रहरीको संलग्नता छ वा छैन त्यस विषयमा अनुसन्धान गरी प्रतिवेदन तयार पारेर १ नम्बर बराह बाहिनी मुख्यालयबाट पठाउने जनाइएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले भद्रपुरको दुइटा गोदाममा छापा मारेर ४ लाख २७ हजार मूल्य बराबरको रजनीगन्धा, तुलसी र कपडा बरामद गरेको थियो । बरामद गरिएको रजनीगन्धा भद्रपुर नाकाबाट भित्राइएको हो। बरामद गरिएको सामानसहित कारोबारी अशोक सहनीलाई प्रहरीले भद्रपुर भन्सार कार्यालय बुझाएको थियो । भन्सारले सहनीसँग बयान लिएर ४ लाख २७ हजार धरौटी लिएर शुक्रवार बेलुका छाडेका भन्सार कर्मचारी विकास दाहालले जानकारी दिए ।