हडिया खोला नहर पुनर्निर्माण समितिको आय व्यय सार्वजनिक
भद्रपुर । भद्रपुर वडा नम्बर ९ स्थित हडिया खोला जल उपभोक्ता समितिले पुनर्निर्माण गरेको नहरको आम्दानी खर्च सार्वजनिक गरेको छ ।
समितिले आर्थिक वर्ष २०७६/७७ मा सिञ्चाइ डिभिजन कार्यालय झापाले दिएको करिव ५० लाख रकमबाट १६० मिटर नहर बेरियर सिस्टमबाट निर्माण सम्पन गरिदा ५१ लाख हाराहारी खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
निर्माण संयोजक चुडामणि मैनालीले दिएको जानकारी अनुसार २ मिटर चौडाइ तथा एक मिटर उचाइ क्षमता भित्र चारपाटे बक्स बनाएर रडमा कंक्रिट मिश्रण गरी मुहान पट्टिबाट १६० मिटर नहर पक्की निर्माण गरिएको छ । उपभोक्ताको सहभागिता २ लाख तथा सिञ्चाइ डिभिजनको अनुदान समेत गरी ४९ लाख ३२ हजार ७२३ आम्दानी रहेको जानकारी दिँदै निर्माण संयोजक मैनालीले ५१ लाख खर्च भएको जनाएका छन् ।
नहर निर्माण स्थलमा पुरानो संरचनाका रूपमा ह्वुइमपाइपको पाइपलाइन रहेको थियो । पछिल्ला केही वर्षयता ह्वुइमपाइप धसिएर पाइपलाइनमा समस्या आउन थालेपछि पानी आगमनमा अवरोध सिर्जना हुँदा सो नहरको सिञ्चित क्षेत्रका कृषकले आवश्यकता अनुसार पानी उपभोग गर्न पाएका थिएनन् ।
उपभोक्ता समितिका अध्यक्ष होमनारायण प्रधानको अध्यक्षता तथा वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा झापा जिल्ला कमिटी सदस्य नरेश सञ्जेल, नेकपा प्रदेश कमिटी सदस्य विष्णुप्रसाद शिवाकोटी, दिननाथ उप्रेती लगायतले मन्तव्य राख्दै वि सं २०४३ सालदेखि सञ्चालित नहरको सम्पूर्ण वहाव क्षेत्र पुनरनिर्माण गरिनु पर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।