अर्थमन्त्रीले सांसदलाई वडाध्यक्षको हैसियतमा पुर्‍याए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको बताए । उनले बजेट निर्माणमा सांसदको भूमिका के हो भन्ने प्रश्न गर्दै बजेटको घोषणापत्र र सांसदको भूमिका के हुन्छ भनेर कहिल्यै पनि छलफल नभएको बताए । उनले स्थानीय पूर्वाधार विकास कोष खडा गरेर सांसदलाई वडाध्यक्षको भूमिकामा राखेको तर्क गरे । उनले भने–‘सांसद विकासको कोषको नाममा पैसा लिन थालेपछि अहिले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको छ । यसलाई बदल्ने कुरामा गुनासो र गनगन गरेर मात्र हुँदैन । यसमा तर्कपूर्ण रुपमा छलफल गर्न आवश्यक छ ।’ उनले रोगी, सुत्केरी, खान नपाएकाहरु भूईँ मान्छेका लागि बजेट माग गरेपनि अर्थमन्त्रीले त्यसलाई नदेखेको बताए । उनले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नु राम्रो कुरा भएपनि सर्वसुलभ स्वास्थ्यका साथै स्वास्थ्य बीमाका बारेमा किन केही कुरा आएन भन्दै प्रश्न गरे ।

सत्तापक्ष सांसदले अहिलको सरकारले २४ वटा प्रयोगशाला बनाएको भनेपनि सरकारले किनेको पाँच वटाले नै काम नगरेको अवस्था रहेको उल्लेख गरे । सरकारले २५ हजार थान मात्रै पिसिआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएको बताउँदै सरकारले आवश्यक काम गर्न नसकेको बताए । सांसद थापाले संविधानमा स्वास्थ्यलाई राज्यको दायित्वभित्र राखेपनि स्वास्थ्य क्षेत्रको बजेट बनाउँदा गलत ठाउँमा सरकार उभिएको तर्क गरे उनले स्वास्थ्य बीमा २०६७ सालमा सुरु भएको, २०७१ सालमा त्यो बेलाको सरकारले गरेको सामाजिक सुरक्षाको कार्यक्रम र २०७४ सालमा बनेको स्वास्थ्य बीमा एउटै नभएको बताए । अहिलेको कानूनले राष्ट्रपतिदेखि सामान्य श्रमिकसम्म सबै स्वास्थ्य बीमामा समाहित हुनुपर्छ भनेको र आयको आधारमा सबैको प्रिमियम तोकिने भनेको बताए । स्वास्थ्यमा सामाजिक सुरक्षाको कार्यक्रम छोडिसकेको भएपनि संसदले बनाएको बीमा कानूनको कुरालाई सरकारले नबुझेर अर्कै कार्यक्रम बनाइरहेका उल्लेख गरे । यसबारेमा सांसदहरुसँग छलफल गर्न पनि उनले आग्रह गरे ।