कोरोना अस्पताल बनाउने निर्णय अलोकतान्त्रिक भएरै समस्या : सरोकार समाजका बुद्धिजीवि
भद्रपुर । संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म विपरित हुकुमी शैलीमा मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोरोना उपचार अस्पताल बनाउने घोषणाले स्थानीय आन्दोलित भएको भद्रपुरका सरोकार क्षेत्रका बुद्धिजीविको तर्क छ ।
प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट तत्काल कोरोना अस्पताल निर्माण गर्ने भन्दै जिल्ला समन्वय समितिको नेतृत्वमा स्थानीय सरकारलाई समेत बेवास्ता गरेर आएको निर्णयले सरोकारवाला नागरिक आन्दोलित हुन बाध्य बनाएको बुद्धिजीवीहरू बुझाइ हो ।
विज्ञ समूहले स्थलगत अध्ययन गरी जनप्रतिनिधि समेतको राय लिएर कोरोना अस्पतालको अवधारणा ल्याइनु पर्नेमा केही व्यक्तिको स्वार्थ पूर्तिको माध्यम बनाएर निर्णय आएपछि अस्पताल आसपास घर भएका हजारौं नागरिक कोरोना संक्रमण त्रासले विस्थापित हुने चिन्ताले आन्दोलित भएका हुन् । २१ करोडमा निर्माणाधिन भवनको आधा पाटो मात्र हतारमा निर्माण सम्पन्न गराइ अस्पताल बनाइने खेलले समेत अस्पतालका नाममा अर्कै खेलको गन्ध देखिएको बुद्धिजीवि बताउने गर्छन् ।
तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भइ सक्नु पर्ने अस्पताल भवन गएका दुई आर्थिक वर्ष बजेट नपठाएर अलपत्र बन्नु अनि यस वर्षको पनि अन्तिम समयमा रातारात आधा भवन निर्माण सुचारू हुनु आफैमा प्रश्न उठ्ने विषय भएको भन्दै आर्थिक, प्राविधिक र गुणस्तरीयताका हिसावमा सो भवनको काम दीर्घकालिन फाइदाजनक नरहेको तर्क प्रा. डा पृथ्वीविक्रम राईको छ ।
उनका अनुसार बहुद्देश्य बोकेको मेडिकल कलेजको क्षमता राख्ने २१ करोडको भवन अलपत्र बनाएर ४, ५ करोडका उपकरण ल्याइने आश्वासनले सुरक्षा प्रबन्ध विनाको कोरोना अस्पताल भद्रपुरको समृद्धि बन्न सक्दैन । कोरोना अस्पतालका लागि निर्माणाधिन, भद्रपुर नगरपालिकाको भवन, जिपी भवन, कलवलगुरी प्रशिक्षण केन्द्र, वा खाद्य संस्थान चन्द्रगढीको गोदाम मध्ये कुनै एक प्रयोग गर्दा हुने विकल्प छोडेर अञ्चल अस्पतालको भवनको रटानले समस्या हल नहुने राईको सुझाव छ ।
यता अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीका अनुसार विज्ञ समूह सहितको प्राविधिक टोलीको अध्ययनविना राजनीतिक बलमा गरिएको निर्णयले आसपासका बासिन्दा असुरक्षित महसुस गरी विस्थापनको चरणमा पुगिसकेका छन् । स्वार्थ मिल्दा सवै दल एक भएको उदाहण दिँदै काजी कोरोना अस्पतालबाट उत्पन्न समस्या मानवीय भएको जिकिर गर्छन् । उनले राजनीतिक तथा प्रशासनिक नेतृत्वले गरेको गल्ति सच्चिनु पर्ने सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधिन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने तयारी गरेको थियो । तर, भविष्यमा प्रत्यक्ष असर पर्ने भद्रपुरका स्थानीयबासीले अस्पतालमा प्रयोगशाला र कारोना उपचार बनाउन जोखिम हुने भन्दै आपत्ति जनाउँदै सरकारी निर्णय नसच्चिए आन्दोलनमा जाने तयारी गरिसकेका छन् । सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता सम्वेदनशील क्षेत्र ५० मिटर दुरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य रोगका विरामी उपचार सेवा लिन अस्पताल कसरी आउन सक्छन् ? भन्ने प्रश्न स्थानीय सरोकारवालाले जोडदार उठाएका छन् ।