नेपालमा कोरोना संक्रमितको संख्या हजारमाथि

नेपालमा कोरोना संक्रमितको संख्या हजारमा

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये पुरुष ९४० र महिला १०२ जना छन् ।

प्रवक्ता देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर दुई हजार चार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल १८७ जनाले कोरोना जितेका छन्। जसमध्ये १४४ पुरुष र ४३ महिला छन् । यो सँगै नेपालका ५१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।