झापाका १७ कैदीले पाए माफी
भद्रपुर । झापा कारागारका १७ जना कैदीबन्दीले माफी पाएका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले उनीहरुको बाँकी सजाय माफी मिनाहा गरेको हो । विभागीय नीति अनुरुप झापा कारागारले कैद माफी मिनाहाका लागि २३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमा १५ पुरुष र दुई जना महिलाको नाम स्वीकृत भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए । झापा कारगारमा एक हजार ५० जना पुरुष र पाँचजना आश्रित गरी ८२ जना महिला छन् । क्षमता भन्दा तीन गुणा कैदीबन्दी झापा कारागारमा राखिएका छन् । देशभरबाट २ सय ३३ कैदीले बाँकी कैद सजाय माफी मिनाहा पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको बाँकी कैद सजाय माफी मिनाहा दिएकी हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम उनीहरुलाई माफी मिनाहा दिइएको हो । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न आठजनाले माफी पाएका छन् ।