भीटीएम किट सकिएपछि झापामा स्वाब संकलन नै रोकियो

भद्रपुर । भीटीएम किटको अभावले झापाका क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन सकेका छैन । किट सकिएपछि झापाको मेचीनगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोकिएको छ । मेचीनगरकी स्वास्थ्य शाखा प्रमुख शशिकला राईले किट अभावका कारण आरडीटी परीक्षण रोकिएको जनाइन् । मेचीनगरका विभिन्न होल्डिङ सेन्टरमा भारतवाट आएका करिब एक हजार जना छन् । जसमध्ये शुक्रवार ३ सय १५ जनाको आरडीटी गरिएको थियो । जसमा १५ वटा नमुनाको आरडीटी पोजिटिभ देखिएको राईले जनाइन् । उनका अनुसार किट नआउन्जेलसम्म अन्यको आरडीटी परीक्षण गर्न सकिँदैन ।

आरडीटी पोजिटिभ देखिएका १५ जनाको स्वाब परीक्षणमा पठाइएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले जनाए । यसैनरी कचनकवल गाउँपालिकामा पनि भीटीएम किट अभावका कारण स्वाब संकलनको काम तीन दिनदेखि रोकिएको छ । स्वाब संकलन गर्ने भीटीएम किट नहुँदा क्वारेनटाइनमा रहेका १३३ जनाको पीसीआर परीक्षण हुन सकेको छैन । भारतबाट हालै भित्रिएका करिब एक हजारलाई मेचीनगर–६ को काँकडभिट्टा मावि, वडा नम्बर ८ को आदर्श मावि र मेचीनगर ११ को स्वास्थ्य चौकी भवनमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।