झापामा १६१७ को स्वास्थ्य परीक्षण, १४० को रिपोर्ट आउन बाँकी

भद्रपुर । झापामा विदेशबाट आएका एक हजार ६ सय १७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । र्र्यािपड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) दुबै माध्यमबाट स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिए ।

उनका अनुसार चार सय ६२ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट स्वाव परिक्षण गरिएको र एक सय ४० जनाको रिपोर्ट आउँन बाँकी रहेको छ । झापाको दमक र बाह्रदशीमा कोरोना संक्रमित फेला परेसंगै स्वास्थ्य परीक्षण्लाई तिब्रता दिएको चौम्लागाईको भनाई छ । उनले दुई जनाको रिपोर्ट पोजेटिभ आएको भए पनि बाह्रदशीका ब्यक्ति निको भएर घर फर्किको भए पनि दमकका कोरोना संक्रमितको भने विराटनगर स्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

रिपोर्ट आउँन बाँकी एक सय ४० जनालाई होम क्वारेन्टाइनमा राखिएको र उच्च निगरानी भइरहेको चौम्लागाईले जानकारी दिए । उनीहरुको रिपोर्ट आगामी तीन दिनभित्रमा आउँने बताइएको छ । कोशी अस्पतालमा कोरोना टेस्ट गर्ने किट सकिएकाले रिपोर्ट आउन ढिलाई भएको चौम्लागाईले जानकारी दिए ।

देशमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । तर यी सङ्क्रमितमध्ये धेरै जना लकडाउन सुरु भएपछि नेपाल आएका छन् । भारतसँगको सीमा नाकामा कडाइ गर्न नसक्दा लकडाउनकै अवधिमा झन् जोखिम बढेको स्थानीयको भनाई छ । सरकारले देशभर कोरोना जोखिमको अध्ययन गरेको छ । त्यसमध्ये देशभरका २९ जिल्लासहित झापालाई रेड जोनमा राखेको छ । झापालाई रेड जोन घोषणा गरिए पनि लकडाउन खुकुलो बनाईदा संक्रमण फैलन सक्ने त्रास बढेर गएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा झापालाई उच्च जोखिममा राखिएको थियो । झापाका १५ वटै स्थानीय तहमा स्वास्थ्य परीक्षण गरिएको चौम्लागाईले बताए ।