नेकपा विवाद सामाजिक सञ्जालमै छताछुल्ल
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट (नेकपा) का नेता–कार्यकर्ताका लागि सामाजिक सञ्जालमा बाझाबाझ गर्नु नौलो होइन । कमिटीको नियमित बैठक नबस्दा पार्टी्भित्रका विवाद, किचलो सामाजिक सञ्जालमै बहसका विषय बन्छन् । शीर्ष नेता भेट हुँदा कारबाहीका विषय पनि । केही दिनअघि सचिवालय बैठकमा आफूविरुद्ध निरन्तर सामाजिक सञ्जालमा विषवमन गरेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कारबाहीको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीको पनि प्रचण्डसँग त्यस्तै गुनासो थियो । पूर्वमाओवादी केन्द्र समूहका एक केन्द्रीय सदस्यले सञ्चालन गरेको अनलाइनमा सरकारविरुद्ध अनर्गल प्रचार भएको भन्दै कारबाही गर्नुपर्ने बताएपछि विषय सामसुम भएको थियो । तर, सामाजिक सञ्जालमा पार्टीका नेताविरूद्ध आरोप–प्रत्यारोपको शृङ्खला चलिरहेकै छ ।
सामाजिक सञ्जालमा नेता र नेतृत्वविरूद्ध निरन्तर छेडखानी र आलोचना बढ्न थालेपछि गत भदौ ९ गते प्रचण्डको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले नेताविरूद्ध सार्वजनिक टिप्पणी गर्न रोक लगाएको थियो । नेता र नेतृत्वबारे पार्टी कमिटीका बैठकमा कुरा राख्न पाइने, सार्वजनिक रूपमा टिकाटिप्पणी गरे कारबाहीको विषय बनाइने सचिवालयले निर्णय गरेको थियो । अनुशासनको डन्डा चलाउने भनेर तर्साइए पनि नेकपामा नेताहरूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, टिकाटिप्पणी हुन छाडेको छैन । पछिल्लो समय पार्टी स्थायी कमिटी सदस्य भीम रावल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमा विवाद देखिएको छ । नेताद्वय सार्वजनिक रूपमै गाली–गलौजमा उत्रिएपछि नेकपाका कार्यकर्ताले यसलाई ‘प्रोक्सी वार’ को दर्जा दिएका छन् । नेकपाले बुधबार बिहान ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक स्थगित गर्यो ।
संघीय संसदका दुवै सदनमा सांसदहरूको कोरोना परीक्षण गरिएको थियो । सबै स्थायी कमिटी सदस्य सांसदको जिम्मेवारीमा नभएकाले केही बाँकी रहे । त्यसैलाई कारण देखाउँदै नेकपाले स्थायी कमिटी तत्कालका लागि रोक्यो । स्थायी कमिटी सदस्य रिमालले भीआईपीका सुरक्षागार्डमा समेत कोरोना सङ्क्रमण देखिएपछि बैठक रोकिएको प्रतिक्रिया सार्वजनिक सञ्चारमाध्यममा दिए । बुधबार बिहान मात्रै रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका हवल्दारमा पनि कोरोना सङ्क्रमण देखिएको थियो । रिमालको भनाइको आशय त्यही थियो । आफ्नो सुरक्षागार्डलाई कारण देखाएर बैठक स्थगित गरेपछि रावल क्रूद्ध भए । उनले ट्विटरमा लामो ट्विट लेखे । “के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ । प्रमका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना सङ्क्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुद्धिले समस्या बढेका छन्,” उनले ट्विट गर्दै भने । रावलले पार्टीको अन्तरिम विधानको धारा ५९ (४) मा ४० प्रतिशत सदस्यले लिखित रूपमा बैठकको माग गरेपछि १५ दिनभित्र अनिवार्य बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरेको आरोप लगाएका थिए । उनले केही दिनअघि बालुवाटारमा सांसद भेला गर्दा पीसीआर टेस्ट नचाहिएको स्मरण गराउँदै त्यसैलाई कारण देखाएर बैठक रोकिनु षड्यन्त्र र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरूप भएको बताएका थिए । रावलको ट्विटमा प्रतिक्रिया दिँदै रिमालले हरेक विषयमा अनावश्यक मानिसलाई घिसारी सार्वजनिक बहस खडा गरेको टिप्पणी गरेका छन् । “हरेक विषयमा अनावश्यक मानिसलाई घिसारी सार्वजनिक बहस खडा किन गर्दै हुनुहुन्छ ? मैले बुझेको छैन । विगतमा मैले चिनेको कमरेड रावल त यस्तो हुनुहुन्न थियो, यी टिप्पणी तपाईं कै हुन या तपाईंका टिमका कोही सौम्य र मतिवान मानिसहरूबाट यी काम भइरहेका छन् ?” रिमालले रावललाई जवाफ फर्काएका छन् । रिमालले आफूले रावलको सचिवालय या सुरक्षाकर्मीबारे टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । “रावल कमरेड, मैले तपाईं वा तपाईंको सचिवालय या सरक्षाकर्मीका बारेमा केही टिप्पणी गर्नु आवश्यकै छैन । पार्टी केन्द्रीय कार्यालयका सचिवद्वयले प्रेषित गर्नु भएको सूचनामा जे लेखिएको थियो, बैठक स्थगित गर्नाको त्यही नै आधिकारिक कारण होला,” रिमालको थप जवाफ छ । रिमालले बैठक राख्ने वा रोक्ने आफू आधिकारिक व्यक्ति नभएको भन्दै आरोप–प्रत्यारोपमा नउत्रन अर्को ट्विटमा आग्रह गरेका छन् । “बैठक राख्ने वा रोक्ने म आधिकारिक व्यक्ति पनि हैन । यो आरोप, प्रत्यारोप किन र केका लागि ? होला यहाँजत्तिको महान् मति र बुद्धि ममा नहोला तर, उही पार्टीका सहकर्मीसँग कस्तो व्यवहार गर्ने सामान्य शिष्टाचार मेरो गुरुहरूले सिकाउनुभएको छ,” रिमालले थप टिप्पणी गरेका छन् ।