गुणस्तरिय सामान प्रयोग
पार्टी प्रतिनिधि सहित जनप्रतिनिधिद्वारा हुलाकी सडकको अनुगमन
गौरीगंज । गौरीगंज गाउँपालिका वार्ड नं. ६ का पार्टीप्रतिनिधिसहित जनप्रतिनिधिहरूले आज अनुगमन गरेका छन् । उनीहरूले गौरीगंज गाउँपालिका वार्ड नं. ६ अन्तर्गत हुलाकी सडकमा निर्माणाधिन कल्भर्ट र सडकको अनुगमन गरेका हुन् । कल्भर्ट निर्माणमा कमसल इट्टा प्रयोग भएको, सिमेन्टको मात्रामा कमबेसी गरेको र सडकको चौडाई पनि कम गरि खनेको जनगुनासो आएपछि वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवको नेतृत्वमा वडा सदस्य सहित पार्टी प्रतिनिधिहरूले अनुगमन गरेका हुन् ।
अनुगमन टोलीले हुलाकी सडक निर्माणमा कुनै प्रकारकोे कमीकमजोरी नगरी गुणस्तर सामानको प्रयोग गर्न ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई आग्रह गरेको थियो । अनुगमन टोलीले हुलाकी सडक निर्माण गरिरहेको मोतीदान कन्ट्रक्सन प्रालिका प्रबन्धक विकास गौतमसंग बाटोको गुणस्तर र त्यसमा प्रयोग भईरहेको ईट्टा, बालुवा, सिमेन्टबारे जानकारी लिएको थियो । हुलाकी सडकका प्रबन्धक गौतमले निर्माणधिन हुलाकी सडकमा प्रयोग गरिने सामानको गुणस्तरमा कुनै कमीकमजोरी नगरिएको बताए । लकडाउनका कारण सामान ढुवानीमा धेरै कठिनाई भोगेको बताउँदै बजारमा सिमेन्ट , ढुंगा, इट्टालगायतका मेट्रियलको अभावका बीच सडकको काम गरिरहेको प्रबन्धक गौतम बताउँछन् ।
करिब २८ किलोमिटर हुलाकी बाटोको ३६ वटा सबै कल्भर्टहरू बर्खा अगाडि नै निर्माण कार्य सकाउने गरी काम थालिएको प्रबन्धक गौतमले बताए । अनुगमन टोलीमा वार्ड अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्यहरू मुकेश साह, उदिम कुमार राई, नेकपा प्रतिनिधि कृष्ण महतो, नेका प्रतिनिधि गोपाल पौड्याल, राप्रपा प्रतिनिधि नन्दराज थापा, शिक्षक विष्णु राजवंशी, पत्रकार आत्माराम राजवंशीलगायत थिए ।