प्रदेश १ मा ‘भीटीएम’ अपर्याप्त

विराटनगर । कोरोना महामारी सुरु भएयता प्रदेश १ ले सरकारले तीन हजार ४० भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडिया) वितरण गरेको छ । प्रदेश १४ जिल्लालाई शंकास्पद व्यक्तिको नमुना संकलनका लागि ३ हजार ४० भीटीएम र सात हजार आरडिटी किट वितरण गरेको हो ।

जिल्लामा वितरण गरेका कारण प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट स्टक छैन । ‘माथिबाट थोरै आउँछ । आएकोलाई सबैलाई वितरण गरेका छौं,’ प्रयोगशालाका निमित्त निर्देशक जयवेन्द्र यादव भन्छन्, ‘थोरै आउने भएका कारण प्रदेशमा स्टक छैन ।’ उनका अनुसार कोरोनाको इपिसेन्टरमा उदयपुरमा ९ सय ३७ वटा भिटिएम किट उपलब्ध गराइएको छ ।

तर यो संख्या उदयपुरले माग गरेको भन्दा आधा हो । ३२ जना संक्रमित देखिएपछि उदयपुरको त्रियुगा नगरपालिकाले मात्र स्वाब परीक्षणका लागि दुई हजार भीटीएम माग गरिरहेको छ । उदयपुरपछि दुईजना संक्रमण देखिएको झापामा ५ सय १५ थान भीटीएम उपलब्ध गराइएको छ । झापाले पनि यो संख्या कम भएको बताउँदै आएको छ । एकजना संक्रमित देखिएको भोजपुरमा १ सय २३ थान भीटीएम पठाइएको छ ।

प्रदेशले मोरङलाई ४ सय ५९, सुनसरीलाई ४ सय ६३, इलामलाई १९, पाँचथरलाई ७१, ताप्लेजुङलाई २३, तेह्रथुमलाई ७०, धनकुटालाई १४, संखुवासभालाई १६, खोटाङलाई ७०, ओखलढुंगालाई १९ र सोलुखुम्बुलाई ६४ वटा शंकास्पद व्यक्तिको नमूना संकलन गर्दा प्रयोग हुने ‘भीटीएम’ पठाइएको छ । प्रदेश प्रयोगशाला प्रमुख यादवलाई भीटीएम किटका लागि जिल्लाबाट बारम्बार ताकेता आउँछ । तर केन्द्रबाट थोरै आउने गरेका कारण अमृत जसरी थोरै थोरै वितरण गर्नुपर्ने उनी बताउँछन् ।

प्रदेशमा वितरण भएकामध्ये १ सय २५ प्रदेशले नै खरिद गरेको थियो । बाँकी भने केन्द्रबाट आएका हुन् । ‘माथिबाट थोरै थोरै आउँछ,’ उनी भन्छन्, ‘आएपछि जिल्लाहरूमा थोरै थोरै बाँड्नुपर्छ ।’ उनका अनुसार प्रदेश १ मा खर्च भएको भीटीएममध्ये जिल्लाहरूमा केही स्टक छन् । धेरै भने स्वाब संकलन गर्दा प्रयोग भइसकेका छन् ।

प्रदेश १ मा आइतबारसम्म २ हजार १ सय ४० जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । कोरोना परीक्षणका लागि विराटनगरमा २ वटा र धरानमा एउटा ल्याब छ । आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।