कचनकवल गाउँपालिकाले ५२९१ विपन्न परिवारलाई राहत वितरण

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले ५२९१ विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खानेकुराकै समस्यामा परेका परिवारलाई पारदर्शी ढंगले एकद्वार प्रणालीमार्फत रहत वितरण गरिएको गाउँपालिका अध्यक्ष अञ्जरा आलमले बताए ।

राहत वितरण गरिएको संख्या कूल घरधूरीको ५८ प्रतिशतभन्दा बढी हो । पालिकामा ९००१ घरधुरी रहेका छन् । प्रतिपरिवार १० केजी चामल, एककेजी दाल, एक लिटर खानेतेल, एककेजी नून र एकथान नुहाउने साबुन वितरण गरिएको छ । राहत वितरणलगायतका कार्यमा ४४ लाख १२ हजार ६९४ रुपैयाँ खर्च भइसकेको योजना शाखा प्रमुख केशव मैनालीले जानकारी दिए ।

कोरोना महामारीलाई मध्यनजर गर्दै गाउँपालिकाले ४४ लाख र प्रदेश नं १ सरकारले ५ लाख रुपैयाँ प्रकोप व्यवस्थापन कोषमा जम्मा गरेकोमा स्थानीय विभिन्न सामाजिक तथा वित्तीय संघ संस्था र दाता समाजसेवीहरुले पनि कोषमा राहत रकम जम्मा गरेका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले छोरोको विवाहको भोजमा खर्च हुने रकमबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद पौड्यालले जानकारी दिए ।

अहिले कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा रहेको लेखा अधिकृत मनमोहन सिग्देलले जानकारी दिए । आफ्नो आन्तरिक स्रोत न्यून रहेको र प्रायः सबै वडा भारतसँगको खुला सिमाना रहेको कचनकवलले कोरोना संक्रमण भित्रन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि सबैखाले तयारी गरेको स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार वार्ड नं ३ को पथरिया माविमा ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको छ भने लकडाउन अघि वा पछि विदेश तथा भारतबाट आएका २२ जनाको आरडीटी र १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । सीमा क्षेत्रका स्वास्थ्य चौकीमा कोरोना हेल्थ डेस्क पनि राखिएको छ ।