झापा प्रशासन बन्दाबन्दी खुकुलो पार्न लचिलो बन्दै
झापा । दुई जना कोरोना संक्रमित भेटिएको झापामा शनिबारदेखि लकडाउन खुकुलो पारिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाको आह्वानमा शुक्रबार सम्पन्न सांसद, जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहितको सर्वपक्षीय वैठकपछि लकडाउन खुकुलो पार्ने निर्णय भएको समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
‘सरकारले तोकेको मापदण्डअनुसार पसलहरू ४ घण्टा खुला गर्ने निर्णय भएको छ’, संयोजक पोर्तेलले भने । उनका अनुसार खाद्यान्न, मल, बिउबिजन, हार्डवेयर, बैंक तथा वित्तीय संस्थाहरू, ग्यारेज तथा मोटरपार्टस लगायतका पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन गर्ने पाउनेछन् ।
खाद्यान्न र तरकारी पसल बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । बैठकले घर बहाल कर छुटका लागि समेत पहल सुरु गर्ने निर्णय गरेको छ । संघीय सरकारले शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालन गर्ने अनुमति दिएको थियो । सरकारको निर्देशनलाई झापाले कार्यान्वयन सुरु गरेको छ । जिल्लाका उद्योग तथा व्यवसायहरू सञ्चालनका लागि न्यूनतम मापदण्डसहित सञ्चालनको अनुमति स्थानीय तहहरूले प्रदान गर्ने निर्णय गरिएको उनले जनाए ।