राहत प्याकेज ल्याउन सरकारलाई आग्रह
झापा । झापाका उद्यमी, व्यवसायीले राहत प्याकेज ल्याउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले लकडाउनका कारण करोडौ रुपैयाँको आर्थिक घाटा बेहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । उद्यमीले विभिन्न १० बुँदे माग अघि सार्दै समयमै पूरा नभए तालाचाबी सरकारलाई दिएर आन्दोलनमा उत्रने चेतावनी दिए ।
लकडाउनबाट सबैभन्दा बढी उद्यमी व्यवसायी पीडित बनेको दाबी व्यवसायीको छ । ‘उद्यमी व्यवसायीले अकल्पनीय क्षति बेहोर्नुपरेको छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले भने, ‘क्षतिपूर्तिका लागि सरकारले राहत प्याकेज घोषणा गर्नुको विकल्प छैन ।’
उद्यमी व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै शुक्रबार प्रधानमन्त्री, मुख्यमन्त्री, जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । धरासायी बनेका उद्योग–व्यवसाय टिकाउन सरकारले राहत प्याकेज ल्याएर वैंकको ब्याज तथा कर छुट गर्नु पर्ने उनीहरुको माग छ ।