किच्चकबधबाट १८ जना भारतीय भागे
भद्रपुर । भद्रपुर २ स्थित किचनकवधको टहरामा अस्थायी क्वारेन्टिन बनाएर राखिएका १८ जना भारतीय मजदुर त्यहाँबाट फरार भएका छन् । रातको समय मौकाछोपी उनीहरू त्यहाँबाट आफ्नै देश भारत फर्किएको अनुमान गरिएको छ । मध्यरातमा सीमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर भारततर्फ गएको बताइएको छ ।
एक महिनाअघि लुकिछिपी पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोज्दा स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । बिर्तामोडको एक प्लाई उद्योगमा काम गर्ने उनीहरूको घर भारतको पश्चिम बङ्गालस्थित रायगञ्ज हो ।
भारत जान रोक लगाएका उनीहरुलाई स्थानीय जनप्रतिनिधि र प्रहरी, प्रशासनले समन्यवमा गरी किचनकवधको टहरामा राखेका थिए । उनीहरुलाई खानाको व्यवस्था स्थानीय जनप्रतिनिधिले मिलाएका थिए । करिब एक महिना टहरा बसेका उनीहरुलाई त्यहाँ बस्नै समस्या भइरहेको थियो । दिनहुँ हावाहुरी, चट्याङसहित पानी पर्दा उनीहरुलाई त्यहाँ बस्नका लागि खासै राम्रो व्यवस्था मिलाइएको थिएन ।
त्यही भएर उनीहरु मौका छापेर भारत भागेको एक स्थानीयले जानकारी गराए । उनीहरुलाई राखेको ठाउँमै अस्थायी प्रहरी चौकी किचनकवध पनि छ । तरपनि उनीहरु त्यहाँबाट भाग्न सफल भएको बताइएको छ । यता प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार भारतीय नागरिक भाग्नु भन्दा पनि उनीहरु पुनः काम गर्न गएको हुनसक्छ ।
करिब महिनादिन देखि क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरु काम गर्न जा पाए हुन्थ्यो भनिरहेको अवस्थामा उनीहरु त्यहाँबाट काममै फर्किएका हुन सक्ने बताउँदै एसपी कोइरालाले भने, ‘मेचीनगरको क्वारेन्टाइनमा पनि ५१ जना भारतीय नागरिक बसेका छन् । उनीहरुलाई पनि काँकडभिट्टा बन्दै गरेको मेची पुलको काममा पठाउने पहल भइरहेको छ ।’