सुनसान अवस्थाको फाइदा लिँदै वन तस्करहरू

झापा । लकडाउनको सुनसान अवस्थाको फाइदा लिँदै वन तस्करहरूले वन विनास तथा वन्यजन्तु तस्करीलाई तीव्रता दिन थालेका छन् । प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनेतर्फ मोडिएको मौका छोपी तस्करहरू तस्करीमा लाग्न थालेका हुन् । वन उपभोक्ता लकडाउन पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले गरेको आह्वान अधिकाम्स सचेत नागरिकले पालना गरिरहेका छन् । तर, यहीबेला झापाका अधिकाम्स वन जङ्गल क्षेत्रमा पसेर तस्कर समूह रूख काट्ने र वन्यजन्तुको चोरी शिकारी गर्ने गतिविधि बढाउँदै गएका छन् ।
लकडाउनका अवस्थामा सुरक्षा संयन्त्रको सम्पूर्ण ध्यान कोभिड–१९ को सङ्क्रमण फैलिन नदिनेतर्फ मोडिएको बेला पेशेवर वन तस्कर र शिकारीले अवसर छोप्न थालेको सामुदायिक वनका पदाधिकारहरू बताउँछन् । “कसरी कोरोना फैलिन नदिने भनेर रोकथामका लागि समाजका सबै लागिरहेका छौँ, झापा सदरमुकाम चन्द्रगढी स्थितचन्द्रगढी वन समूहका सकृया समिति सदस्य लोकबहादुर कुँवरले भने, “वन तस्करहरू भने सुनसान अवस्थालाई मौका बनाएर जङ्गलतिर पस्न थालेका छन् । यस अवस्थामा समूहले पालो लगाएर वन गस्ती गराइ रहे पनि विरूवा मास्नेक्रम रोक्न नसकिएको अवस्था छ ।”

यो समस्या सरकारको प्रत्यक्ष नियन्त्रणमा रहेको सरकारी वन र समुदायको संरक्षणमा रहेको सामुदायिक वन दुवैतिर बढ्दो मात्रामा छ । शिकारीहरुले वन क्षेत्रमा प्रवेश गरेर डढेलो लगाउने र वन्यजन्तु मार्ने गरेको हुँदा समुदायले बन्दाबन्दीको बेलासमेत गस्ती बढाउनुपरेको सामुदायिक वनहरूले जनाएका छन् । दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्दै आएका मजदूरले समेत कामविहीन भएपछि वन क्षेत्रमा वन्यजन्तुको शिकार गर्न थालेका छन् । झापाको वनमा बँदेल, हरिण, दुम्सी, मृग, खरायो, मयुर, लुइँचेलगायतका जीवजन्तु छन् । यी जनावर तथा पक्षी मार्नेहरू रात दिन जुनसुकै मौका छोपिरहेका छन् । लकडाउनसँगै चोरी शिकारीबाट वनका जनावर जोगाउन नसकिने अवस्था आइसकेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार पटक पटक वनमा डढेलो लगाइसकेका छन् । यस अवस्था नियन्त्रण नहुने हो भने लकडाउनको अवधिभरमा वन्य जन्तु सकिने छन् भने रूख कटान पनि तीव्र बन्दा वन विनास नियन्त्रण बाहिर जाने छ ।
तस्कर र शिकारीहरू सक्रिय भएको पाइएपछि झापाका अधिकाम्स सामुदायिक वनले वन्यजन्तुको शिकार, काठ चोरी, तस्करी र आगलागीबाट जोगाउन सामूहिक गस्ती गर्न थालेका छन् । लकडाउनका बेला अवसर छोप्नेहरुलाई कारवाही गर्न सरकारले नयाँ कार्ययोजना अघि सार्नु पर्ने वन संरक्षण कर्ताहरूको माग छ । उनीहरू भन्छन्—लकडाउनका बेला वन जोगाउन वनका कर्मचारी र पदाधिकारीहरूलाई मुस्किल परिरहेको छ, आम उपभोक्ताको साथ र सहयोग अति आवश्यक बनिसकेको छ ।
झापामा रहेका ५९ वटा सामुदायिक र तीन वटा कबुलियती वन छन् । सबै वनको साझा समस्या नै चोरी तस्करी र आगलागी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन क्षेत्रमा तस्करी र शिकारी बढेको जानकारी पाएपछि कार्यालयले एक हप्ता अघि नै लकडाउनका बेला वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाइएको सार्वजनिक सूचना जारी गरेको छ ।
लकडाउन अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्यहरू वन ऐन, २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले अनधिकृत रूपमा वन क्षेत्रमा प्रवेश गरेमा कडा कारवाही गरिने बताए । तर, चोर, तस्करहरू रातको समयलाई अनुकुल बनाएर वन पैदावार सास्ने कार्यमा सकृय हुन छोडेका छैनन् । वन्य जन्तु शिकारी दिनमै सकृय भए पनि काठ तस्कर रातमा बढी सकृय हुने गरेको स्थानीय बासिन्दा बताउने गर्छन् ।