हल्दिवारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको होइन

झापा । झापाको हल्दिवारी गाउँपालिकामा कोरोना संक्रमण पोजेटिभ देखिएको भन्ने हल्ला निराधार रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हल्दिवारीमा कोरोना संक्रमित भेटिएको हल्ला चलेपछि स्वास्थ्य कार्यालयले हल्ला हल्ला मात्र भएको प्रतिक्रिया दिएको हो ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले हल्दिवारीमा विदेशबाट आएका ५५ जनाको कोरोना संक्रमणको र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोही पनि पोजेटिभ नदेखिएको बताए । उनले ५५ मध्ये शंकास्पद १९ जनाको थ्रोट स्वाब परीक्षणका लागि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर पठाइएको चम्लागाईले बताए ।
हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्‍वारेन्टाइनमा र ५१ जना होम क्‍वारेन्टाइनमा बस्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापा, कोभिड उपचार केन्द्र विराटनगर र गाउँपालिका स्वास्थ्य शाखाको टोलीले आजबाट र्‍यापिड परीक्षण सुरु गरेको छ । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेशिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका छन् ।