मेचीबाट पहिलो पटक बडी स्यानिटाइजर च्याम्बर प्रयोगमा
झापा । प्रदेश १ मा पहिलो पटक नयाँ विकल्प भएको छ–बडी स्यानिटाइजर च्याम्बर प्रयोगमा ल्याइएको छ । भद्रपुर स्थित मेची अञ्चल अस्पतालबाट यस प्रविधिको प्रयोग गरिएको हो । हिँड्दै गर्दा पुरै शरीर र व्यक्तिले बोकेका सामानलाई एकैपटकमा निसङ्क्रमित गर्ने उपायको खोजीको क्रममा यो च्याम्बरको प्रयोग थालिएको जनाइएको छ ।
मेची अचंल अस्पतालमा जडान भएको डिस इन्फेक्सन च्याम्बर प्रयोगमा आएपछि हुलमुलमा किटाणु नासक उपाय सहज बन्ने देखिएको छ । विशेषगरी भिडभाड हुने स्थान क्वारेन्टाइनस्थल, बैङ्क, अस्पताल, उद्योग, तरकारी बजार, सुरक्षा निकायलगायतका कार्यस्थलमा बडी स्यानिटाइजर च्याम्बर उपयोगी हुने देखिएको हो ।
नेपालमा पहिलोपल्ट काठमाडौंको वीर हस्पिटलमा मारवाडी युवा मञ्चको पहलमा बडी स्यानिटाइजर च्याम्बर प्रयोगमा ल्याइसकिएको छ । अस्पतालका डाक्टरदेखि विरामीका कुरुवासम्मले यो च्याम्बरबाट अनिवार्य प्रवेश गर्नुपर्ने नियम बनाइएको छ ।
बाहिरबाट आएका बिरामी तथा आफन्तलाई निसङ्क्रमित गर्ने केमिकल स्प्रेमार्फत स्यानिटाइज गरिदिन्छ । यसको अर्थ व्यक्तिले हातमा स्यानिटाइजर दल्नु पर्नेछैन, साबुनपानी खोजिरहनु पर्नेछैन ।
झापाको मेचीनगरमा मेची अभियानको पहलमा स्थानीय प्राविधिकले मौलिक बडी स्यानिटाइजर च्याम्बर निर्माण गरि मेची अंचल अस्पताललाई हस्तान्तरण गरेका छन् ।
धुलावारी खानेपानी कार्यालयमा स्थानीय युवा सागर शिवाकोटीको विशेष निर्देशनमा खानेपानीका प्राविधिकहरुले च्याम्बरको फ्रेम आइतवार नै तयार पारिसकेका थिए । च्याम्बर निर्माणमा खानेपानीका पाइप र टुटी प्रयोग गरिएको छ । वीर हस्प्टिलको जस्तो सेन्सर नभएर यहाँ स्प्रेका लागि प्रेसर विधि प्रयोगमा ल्याइँदैछ । च्याम्बरमा प्रवेश गर्ने व्यक्तिले गेटमा खुट्टाले स्वीच थिचेपछि भित्र पस्नासाथ केमिकलयुक्त स्प्रेले स्यानिटाइज हुने प्रविधि संयोजन गरिएको मेची अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए ।