मोरङमा भारतीयले प्रवेश नपाउने

विराटनगर । भारतबाट नेपाल प्रवेश गर्ने मानिसका बारेमा स्थानीयले प्रहरीलाई सूचना दिने गरेकाले कोही पनि प्रहरी निगरानीबाट छलिन नसक्ने भएका छन् । झापा र सुनसरीको बीचमा पर्ने मोरङको कूल सीमाना क्षेत्र ६३ दशमलव २ किमी क्षेत्रका स्थानीयबाट प्रहरीलाई सहयोग प्राप्त भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए ।
उनले सीमा क्षेत्रमा कोराना भाइरसको सन्त्रास पहिले एउटा गुल्म रानी र छ वटा बोर्डर आउट पोस्ट (बिओपी) मा सशस्त्रको सुरक्षा टोली खटिएको थियो । बखरी, बुधनगर, नोचा, मायागञ्ज, रंगेली र बरडाँगाबाट नेपाल र भारतको सीमा जोडिएको दसगजा क्षेत्रमा सशस्त्र प्रहरीले पहरेदारी गरिरहेको थियो । अहिले सो क्षेत्रमा ३६ वटा नयाँ पोस्ट स्थापना गरी सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको उपरीक्षक कार्कीले जानकारी दिए । सामान्य अवस्थामा २१० जना सशस्त्र प्रहरी सीमा सुरक्षा व्यवस्थापनमा खटिएकामा अहिले लकडाउन शुरु भएपछि ४०० को सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए ।
उनले कोरोना भाइरसको महामारी फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी सशस्त्र प्रहरीले २४सै घण्टा ड्युटी गरिरहेकाले कुनै पनि भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गर्न सक्ने अवस्था नरहेको दावी गरे । लकडाउनका बेला भारतमा फसेका एक व्यक्तिलाई नेपाल प्रवेश गर्ने क्रममा धनपालथान गाउँपालिकामा दुई जना नेपालीलाई पक्राउ गरी क्वारेन्टाइनमा राखिएको छ । जहदा गाउँपालिकामा हजुर बुबा र नाती भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरी उनीहरुलाई जहदाकै क्वारेन्टाइनमा राखेको उपरीक्षक कार्कीले जानकारी दिए ।