लकडाउन जस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किने

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड(१९) लामो समयसम्म रहने बताएका छन् ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड(१९) बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् ।

उनले लकडाउन जस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किने बताए । विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे ।

उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड(१९) बारे विश्वलाई समयमै सचेत गराएको बताए ।

“पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा ग‍र्यौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,“ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड(१९ लाई ’अन्तर्रा्ष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट’ घोषणा गरेको थियो । मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो ।

महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो ।

“केही गल्ती नगरौँ( हामीले अगाडिको धेरै लामो बाटो तय गर्नु छ । भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ ।

“भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, “प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ ।

त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ । अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ ।“ साभार ः बीबीसी ः नेपालि सेवा