सिमानामा खटिएका सुरक्षाकर्मी आफैँ असुरक्षित
नयाँ सन्दर्भ
झापा । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटाइएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैं असुरक्षित हुँदै गएका छन् ।

कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश रोक्न परिचालित नेपाली सुरक्षाकर्मी सामान्य त्रिपाल भित्र बस्नु पर्ने अवस्थाले प्राकृतिक विपतबाट असुरक्षित हुँदै गएका हुन् ।
हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा टोकरी राखेर सीमासिलको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी सुरक्षा सामग्री तथा जनशक्ति परिचालनको हिसावमा शसस्त्र प्रहरीको तुलनामा कमजोर देखिएको छ ।

नेपाल प्रहरीले हरेक टोकरीमा ३ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एउटा सामान्य त्रिपालमा दिन रात बिताइरहेका ती सुरक्षाकर्मी दिउँसो घामको तापमा रापिन बाध्य छन् भने रातमा आउने हुण्डरीसहितको पानी सहन बिवस छन् ।
हुन त शसस्त्र प्रहरीको पीडा पनि कम छैन । चाइनेज टेन्ट टाँगेर सिमानासिलमा खटिएका सीमा सुरक्षा बलका जवानहरू हावापानीमा टेन्ट समाएर रात बिताउन बाध्य छन् ।
नेपाल प्रहरीको तुलनामा अलि व्यवस्थित देखिएको शसस्त्र प्रहरी बलको टुकरीमा ६ जनासम्म परिचालित छन् ।
सामान्य असिनापानीमै प्वाल परेको टेन्टमा रात बिताएर सिमानासिलको भूमिका निर्वाह गरिरहेका छन् ।
यता नेपाल भारत सिमानामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएपछि स्थानीयमा भने सीमा मिचिने र चोरी तस्करीका समस्या निराकरण भएकोमा खुसीको बास भएको छ ।
स्थानीय भन्छन्—“भारतीयको सिमाना थिचोमिचो रोक्ने अति बलियो उपाय अहिलेका सुरक्षा पोस्ट निरन्तर रहनु पर्दछ । चोरी तस्करी पनि रोकिने अनि सीमा अतिक्रमण पनि बन्द हुने ।”