निको हुँदै नेपालमा कोरोना संक्रमित, उपचारपछि १२ जना घर फर्किए संक्रमित
जगत भण्डारी
काठमाडौं । सरकारले शुक्रबार साझँदेखि शनिबार अपराह्नसम्म नेपालमा थप कोरोना संक्रमित फेला नपरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार साझँ झापाको दमकमा एक ६२ वर्षीय पुरुषमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ४९ कायम रहेको र थप संक्रमित फेला नपरेको जानकारी दिएका छन् ।
विराटनगरमा ३० जना, वीरगञ्जमा ५ जना, धनगढीमा र भरतपुरमा एक–एकजनासहित ३७ जना कोरोना संक्रमित उपचारको क्रममा रहेका छन् ।
ती सबैको स्वास्थ्यस्थिति सामान्य रहेको उनले बताए । प्रवक्ता देवकोटाका अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या बढ्दो छ ।
शनिबार भरतपुर अस्पतालमा उपचारको क्रममा रहेका २७ बर्षीया पुरुषको दुई पटक पीसीआर नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ पुगेको हो। ।
हिजो धौलागिरी प्रादेशिक अस्पताल बाग्लुङमा उपचाररत १९ वर्षीया युवती रोगमुक्त भएर घर फर्किएकी थिइन् ।
उनी चैत ४ मा बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी थिइन् । शनिबारसम्म देशभर शंकास्पद संक्रमित ८७ जना आइसोलेसनमा रहेका छन् ।
तीमध्ये काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८४ जना रहेका छन् । शनिबार १४ हजार ७ सय ३१ क्वारेन्टाइनमा रहेका छन् ।
बाग्मती प्रदेशमा सबैभन्दा थोरै एक सय ३१ जना र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् ।