श्रमजीवि कृषकका पीँडा सुनिदेऊ सरकार
कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिण हुने अवस्था आएको छ ।
यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकाम्स नगदेवाली लकडाउनका कारण बिक्री गर्न नपाएपछि जीवन गुजाराको आय ऋणमा परिणत हुने चिन्ता थपिएको हो ।
कृषका लागि सरकारले घोषणा गर्ने भनेको राहत प्याकेज कस्तो हुने हो ? अहिलेसम्म अत्तोपत्तो छैन । तर, कृषकको थाप्लोमा लाखौँ ऋणको भारी बोक्नु पर्ने बाध्यता जीवित छ ।
आफ्ना घरबारीका कृषि उत्पादन बिक्री गर्न चाहँदा चाहँदै कृषकले अवसर पाएका छैनन् । नाफा कमाउनु पर्ने समयमा कृषकले नोक्सानी व्यहोरिरहेका छन् ।
देशमा तीन तहका सरकार छन् । यी संघीय, प्रदेश र स्थानीय सरकारले आम जनताको जीवन बचाउने कृषका समस्यामाथि कुनै चासो व्यक्त गरेका छैनन् ।
अतिविपन्नलाई राहत बाँड्ने कार्यक्रम बनाए पनि तीनै तहका सरकारले देशको आर्थिक मेरूदण्ड र बलियो खम्बा कृषकका लागि कुनै योजना बनाएका छैनन् ।
श्रम, समय तथा सानोतिनो पूँजी लगाएर परिवार धान्ने साना तथा मझौला किशान अमयानुकुल उत्पादित कृषि उपज बेच्नबाट बञ्चित हुँदा आर्थिक संकटसित मानसिक तनाव समेत व्यहोर्न बाध्य छन् ।
झापाका उत्तरी क्षेत्रमा तरकारी खेती गर्ने र पशुपालक कृषको संख्या बढी छ भने दक्षिणी क्षेत्रमा खोला बगरमा बगरे लहरे खेती, मौसमी तरकारी खेती तथा पशुपालनमा जीवनयापन गर्ने कृषक रहेका छन् ।
मेची, कन्काई, बिरिङ, रतुवा लगायतका नदीका बगरमा व्यावसायिक खरबुजा खेती गरिदैआएको छ । लकडाउनका कारण यी कृषक आफ्ना कृषि उपज बेच्न नपाएपछि मर्कामा परेका छन् ।
सहज रूपमा पाकेका उपज बजार पुर्याउन नपाउँदा मेची नदीको बगरमा लागएको खरबुजाको बिक्री नभएर कुहिने अवस्था भएको छ ।
लामो समयदेखि लकडाउन हुँदा पाकेको खरबुजाले बजार नपाउँदा यसपटक बैंकको ऋण तिर्नु त परै जाओस परिवारको समेत बिल्लीबाठ हुने अवस्था आएको कृषकको दुःखेसो छ ।
खरबुजा तथा तरबुजा बेच्ने मध्य समयमा लकडाउन लम्बिएर गएपछि कृषक आफूहरूले उत्पादन गरेको खरबुजा बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गर्छन् ।
पाकेर बारीभरी लटरम्म हुँदा अब पनि बेच्न पाउने अवस्था नआए भोकै मर्नुपर्ने अवस्था आउने कृषकको गुनासो छ । खरबुजा बेच्ने समयमा कोरोना भाइरसका कारण लकडाउन भएपछि एकाएक निरास भएका कृषकमा खरबुजा बिक्री नहुने सम्भावना बढेपछि मेहनत, परिश्रम र लगानी डुब्ला कि भन्ने त्रास बढेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाका कृषकले उत्पादन गरेको दूध बिक्री नभएपछि मोही बनाएर गाईलाई खुवाइरहेको अवस्था छ ।
बुद्धशान्तिको शान्तिनगर, बुधवारे, मेचीनगरको बाहुनडाँगी, ज्यामिरगढी, दुवागढी, धाइजन, कचनकवलको बनियानी, केचना, पथरिया, घेरावारी, झापा, गौरादह, गौरी गञ्ज लायतका क्षेत्रमा उत्पादित तरकारीले बजार पाउन सकेका छैनन् ।
हिउँदे तरकारीको अन्तिम सिजनमा लकडाउनले पारेको दुष्प्रभावबाट तरकारी किसान ऋणमा डुब्नु पर्ने अवस्था निर्माण भएको छ ।
यति मात्र होइन कि विभिन्न वित्तीय संस्था तथा सहकारीहरूले लगानी गरेर कृषि कर्म गरिरहेका किसानहरू सिजनको उत्पादन बेच्न नसकेपछि ती वित्तीय संस्थाको कारोवार नै धरापमा पर्ने अवस्था निर्माण भइसकेको छ ।
कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन लागि परेका अधिकाम्स साना तथा मझौला किसानको उत्पादनले लागत अनुसार मोल नपाउने गुनासो त छदैँछ तर फलफुल तथा पशुजन्य उत्पादन तुरून्त बजार पठाउन नसकिए एक महिनाको असर वर्षभरी नै पर्न सक्ने अवस्थालाई सरकारले बुझ्न सकेको छैन ।
झापाली कुखुरा पालक कृषको पीडा झन डरलाग्दो छ । कोरोना त्रास फैलने हल्ला चलेको एक महिने अवधिमा मासुजन्य उत्पादन खान नहुने भन्ने भ्रमले कुखुरा खरिद विक्री नै पूर्ण रूपमा रोकिन पुग्यो ।
पालिराख्दा दानापानी खुवाउनै नसकिने भएपछि कतिपयले राखतमा कुखुरा नै दिन पुगे भने कतिपयले खाडल खनेर पुर्नु पर्ने बाध्यता आइ लाग्यो । यस अवस्थाले कुखुरा पालक कृषक ऋणको भारी मात्र बोक्न बाध्य भए ।
कृषि क्षेत्रको विषयमा सरकारले तत्कालिन राहतको पाटोले हेर्नुपर्ने थियो तर, उत्पादित कृषि उपजको भण्डारण, तथा बिक्रीमा लकडाउनले अवरोध पुगे पनि सहज अवस्था बनाउन सरकारी पक्षले नसक्दा कृषक समस्यामा परेका हुन् ।
लकडाउन भए पनि सुरक्षित हिसाबले पशुपालन र खेतीपातीको काम निर्वाध गर्न सरकारले प्रेरित गर्नुपथ्र्यो । कुनै रोकावट छन् भने सहज बनाइदिनु पर्ने थियो ।
तर, लकडाउन र क्वारेन्टिनले कृषि र खाद्य आपूर्ति श्रृंड्खलामा अवरोध पुगेपछि कृषका उत्पादन बारीमै कुहिने अवस्था आइलाग्यो । कृषि उपज ढुवानीलाई नियमित र सहज बनाउन सरकारबाट प्रभावकारी व्यवस्था तत्काल आवश्यक छ ।
स्थानीय बजारलाई कसरी निश्चित समय र प्रक्रियाको माध्यमबाट सुचारू गर्ने भन्नेमा स्थानीय सरकारले आवश्यक व्यवस्था गर्न सम्भव छ ।
उत्पादन गरिएका बिक्री गर्नु पर्ने सामाग्री स्थानीय सरकारले खरिद गर्ने र विक्री गर्ने प्रबन्ध पनि गर्न सकिन्छ । तर, सरकारले घोषणा गरेको राहत प्याकेजमा भूमिहीन र साना किसानको विषयमा केही बोलेको छैन ।
यी वर्गका किसान भाडामा जग्गा लिएर आफैं कृषि मजदुर भएर कृषि उपज उत्पादन गरिरहेका हुन् । यिनीहरूका उत्पदन विक्रीमा अवरोध पुग्दा गाँस, बास नै तुरुन्तै प्रभावित हुने कारण उनीहरूको जीवनशैलीमा नकारात्मक असर पर्न थालेको हो ।
सरकारले समयमै यी श्रमजीवि किसानका समस्या नसुन्ने हो भने जमिन बाँभिने क्रम अझ बढेर जाने छ । थोरवहुत स्वदेशी उत्पादनको देन दिने कृषि पेशाबाट पलायनको अवस्था आउन सक्छ ।