नयाँ वर्ष २०८३ ले हामीलाई सही बाटो देखाओस्
वर्ष २०८२ ले नेपालको राजनीतिका विकृतिमाथि अनेक झड्का दिँदै पुराना भनिएका दलहरूला सच्चिन खवरदारी प्रदान गरेर गयो । आफ्ना लागि आफैं उत्पादन गर्ने, स्वदेशमै रहेर पेशा व्यवसाय गरी राष्ट्रिय उन्नति बढाउने मौका गुमाएर पद र पैशाका लागि राजनीतिलाई कमाइखाने भाँडो बनाउँदै गएका दलहरू निर्वाचनको माध्यमबाट नेपाली मतदाताले एउटा संकुचित आकारमा सिमित बनाइ दिए । मानव जीवनशैली र विकासको परिभाषामा आमूल परिवर्तन ल्याउन दिएको पटक पटकको अवसर पुराना नेपाली राजनीतिक नेतृत्वले सही रूपले प्रयोग गर्न सकेन । श्रमजीवि सर्वहारा भुइँमान्छेहरूका सुसेली ओझेलमा पारेर सर्वआहारामा सरकार रमाइरह्यो ।
आफैंले आन्तरिक राजनीतिमा ध्रुवीकरण खडा गर्ने, संसद्लाई संवादको थलो बन्न नदिने, अवैज्ञानिक विचारहरू पस्किने र तिनलाई पूर्ण सत्य मान्ने पालित भक्तहरूको फौज राख्ने जस्ता अराजक गतिविधिमा रमाएको यस राजनीतिले देशलाई सही दिशा देखाउन सकेन । राजनीति तब मात्र जोगिन्छ, जब त्यहाँ सग्लो सत्यसँग नेतृत्व गर्ने परिचित हुन्छ । अर्थात्, राजनीतिले त्यो प्राकृतिक र राजनीतिक असन्तुलनबारे थाहा पाउँछ । ज्यादा सुरक्षित, ज्यादा शान्तिपूर्ण र व्यवस्थित समाजको निर्माण चटके तरिकाबाट हुनै सक्दैन भन्ने सत्य नेतृत्वमा रहनेले बुझेको हुनु पर्छ । बिडम्बना नेपाली राजनीतिमा नेतृत्वकर्ताले हरेक पटक चटक देखाइ रहेका छन् । यस्तै चटकका बीच २०८२ ले विदा लिएर गयो अनि नयाँ वर्षका रूपमा २०८३ ले उदाउने अवसर पाउँदै छ ।
संघीयता आएपछि केन्द्रमा रहेको राजनीतिक अधिकार स्थानीय स्तरमा प्रेषित भएको ठानिरहेका आम नागरिकले आफ्नासामु रहेका शासकहरूबाट ढाँट छलभन्दा फरक अनुभूति समेत पाएनन् । ५ वर्ष नेतृत्व लिँदा टिफर, स्काइभेटर, घर घरेडी कमाइसकेकाहरू नै फेरि लाज पचाएर दल फेर्दै सर्वहाराका असली प्रतिनिधि हुँ भन्दै घर आँगन धाइरहेका छन् । आज स्थिति फेरि जटिल हुँदै छ । मुलुक बाहिर रोजगारीका लागि गएकाहरूको लर्को सीमानाकाहरूमा देखिँदै छ ।
संकटका माझ जोखिम मोल्दै कसैले किन सीमा नाघ्यो ? के उसको थातथलोमा अवसरहरू खडा थिए ? सोझो कुरा भन्ने हो भने गाउँ, शहर र बस्तीले अवसर नदिएकाले अधिकाम्स नागरिक कामका लागि देश बाहिर पलायन भइरहेका छन् । यस वर्षबाट युद्धका कारण मध्ये एसियामा आश्रित धेरै नेपाली नागरिक रोजगारी गुमाएर फर्कने क्रम बढ्दै छ । त्यसरी फर्कनेहरूले आफ्नो माटोमा बाँच्ने आधर पाउलान् त ? गाउँ तथा शहरी क्षेत्रको मनोविज्ञान कस्तो छ ? समस्या गहिरिँदै गयो भने भय, भोक र गरिबीले अनेकौं विसंगति खडा गर्न सक्छ । नेपाल असन्तुलित परिस्थितितर्फ लम्किँदै छ भन्ने तथ्य तीन तहका सरकारहरूसित छ त ? निर्वाचनका बेला अनेकौं बाचा गर्ने अनि मत जितेपछि बेवास्ता गर्ने परम्परा रहेकै कारण नेपाली राजनीतिलाई विश्वास नगर्ने परम्परा बढ्दो छ । यस सत्यलाई वर्तमान राज्य सत्तामा रहेकाहरूले राम्ररी बुझ्नै पर्छ ।
विगतमा राजनीति सही गतिमा नरहँदा स्थानीय सरकारहरूको समन्वयमा विगतमा गरिनुपर्ने कामहरू गर्न–गराउन सकिएन । थातथलो छाडेर कमाउन जानेहरूसँग कस्तो श्रम र सीप छ, त्यसलाई त्यहीँ वरिपरिको क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ ? त्यसतर्फ राजनीतिले गम्भीरता देखाएन । जो जहाँबाट आफ्नो थातथलोमा रित्तो हात फर्किंदै छ, त्यसले श्रम र क्षमता प्रयोग गर्ने अवसर पाउँछ त ? मञ्चमा उभिएर राष्ट्र बनाउने नारा घन्काउँदैमा समृद्ध नेपाल सुखी नेपाली हुनै सक्दैनन् । राष्ट्रको नेतृत्वमा रहेकाहरूले यहीँ रहेर पेट भर्ने अवसर सिर्जना गर्ने मौका निर्माणको आधार खडा गर्न नसक्ने हो भने अब पनि नेपालको मुहार फेरिदैन । धोकेवाज राजनीति संस्कारको अन्त्य होस् । जति पनि विकृति छन्, ती सवै अन्त्य हुन् । श्रम गरेर सहज जीउने वातावरण निर्माण होस् नयाँ वर्ष २०८३ को यही सवैमा शुभकामना ।
