निराकारको पाँचौ कृति अध्ययन गर्दा
द्रोण अधिकारी गुयेली
पेशाले शिक्षकको पहिचान बनाएका झापा सदरमुकाम चन्द्रगढीका स्थायी बासिन्दा कृष्ण सुवेदी निराकार हाँस्यव्यंग्य शैलीमा उत्कृष्ट कविता काव्य रचना गर्ने स्रष्टा पनि हुन् । वि सं २०५८ सालमा पहिलो कृतिका रूपमा तीतो सत्य कविता संग्रह प्रकाशन गरी नेपाली कविता काव्य जगतमा उदाएका निराकारले २०८१ चैत्रसम्मको समयमा हतारमा तयभयो यात्रा यो पटकको लामो कविता कृतिमा आइपुग्दा पाँच वटा कविता संग्रह प्रकाशन गरिसकेका छन् । निराकारले आफ्ना कविताभित्र समाजका विकृति, विसंगतिलाई व्यंग्य भाव समेटेर प्रहार गर्दै रोचक र घोचक शैलीमा विषय उठान गर्ने गरेका छन् । उनी बाल सुलभ भाव बोकेर सुकोमल बाल कविता समेत सिर्जना गर्ने कवि भएको प्रमाण उनको दोश्रो कविता संग्रह सानो छँदा २०६१ बाल कविता संग्रहले प्रमाणित गरिदिएको छ ।
साहित्यका विविध विधामा कलम चलाउन सफल भए पनि निराकारको पहिचान कविता विधासित निकै बलियो भएर गाँसिएको देखिन्छ । जुनसुकै विधामा कलम चलाए पनि उनले समाजका विकृति, विसंगतिमाथि भने चोटिलो प्रहार गर्दै सुधारको चाहना राखेको देखिन्छ । थोरै शब्दमा धेरै भन्नु पर्ने कविता विधामा समेत निराकारले विकृतिरहित मानव समाजको आवाज बुलन्द गर्न सफल भएको देखिन्छ । जीवन धान्ने पेशा शिक्षण रोजेका निराकारले माटो र भाषाको निस्वार्थ सेवाका लागि साहित्य सिर्जनालाइृ रोजेको देखिन्छ । सिन्धुली जिल्ला अन्र्तगत तिनपाटन भुकुनेको जखनी शिखरमा जन्मिएर हुर्किएका कृष्ण सुवेदी निराकार उच्च शिक्षा र रोजगारीको शिलशिलामा झापा सदरमुकाम आइपुगेका भए पनि यहीँको स्थायी बासिन्दा भएर देशको सेवा अन्र्तगत सिर्जनाको बाटोमा लागेका सरस्वतीका भक्त हुन् ।

निराकारले सिर्जना गरेको पछिल्लो कृति “हतारमा तयभयो यात्रा यो पटकको” लामो कविता संग्रह एउटै कविताको संग्रह २०८१ चैत्रमा प्रकाशन भएको छ । गद्य लयमा सिर्जना भएको यो कविता खण्ड काव्य जस्तै लाग्ने लामो कविता हो । प्रथम पुरूष शैलीमा सुरू भएको कविताले हरेक व्यक्तिसित गाँसिने हतारोपनलाई समाजको चित्र बनाउादै व्यंग्यवाण हान्ने प्रयास गरेको देखिन्छ । अश्लिल गालीगलोचमा अल्मलिरहेको सामाजिक संरचनाभन्दा माथि उठेर निराकारले विकृति बिरूद्ध धावा बोल्दा सौम्य व्यंग्य बनाएर कविता काव्य रचना गरिरहेको प्रमाण यस कविता कृतिले पुष्टि गर्छ । कविले आफैंलाई अगाडि सारेर कविताको विषय बस्तु उठान गरेका छन् । सवै कुरा चाहिने तर यात्रामा निस्कदा बोकेर नहिड्ने मानवीय कम्जोरीमाथि चोटिलो व्यंग्यवाण प्रहार गरिएको यस कवितामा समाजका अनगिन्ति समस्यामाथि प्रहार गरिएको छ ।
मान्छे स्वभावले नै स्वार्थी हुन्छ तर आफ्नो स्वार्थ अरूले नै पूरा गरिदिउन् भन्ने सोचचाहिँ मानवीय कमजोरी रहेको संकेत कविले हतारको यात्रामा अति आवश्यक सरसामान छुटेको विलापलाई कविता बनाएको देखिन्छ ।
पहिलो श्लोकमा कवि भन्छन्—
यात्रामा
छुट्नै नहुने कुरा धेरै छुट्यो
मञ्जन छुट्यो, ब्रस छुट्यो,
तेल र काइँयो पनि छुट्यो ।
कविले कवितामा आफ्नो व्यक्तिगत जीवनलाई समाजसित जोड्ने आधार समेत छुटेको गुनासो गर्दै लेख्छन् —
अह्राउनु पर्ने र गर्नु पर्ने
धेरै काम—कुरो पनि छुट्यो,
भाइ—बन्धु चेलीबेटी
आफन्त र नातेदारहरूलाई
राम्ररी बस है ! भन्न पनि छुट्यो ।
समग्रमा कवि निराकारले व्यक्ति, परिवार, समाज र राष्ट्रभित्र लुकेका विकृति विसंगतिमाथि घुमाउरो पाराले व्यंग्य गरिएको यस कविता कृतिमा नेपाल राष्ट्रको सुनौलो भविष्यको यात्रा हतारको राजनीतिले तय नगरोस् भन्ने कामना समेत गरिएको छ । समृद्ध राष्ट्र सुखी नेपालीको नारा लगाउनेहरूले राष्ट्रलाई समृद्ध बनाउने भन्दा आफू समृद्ध बन्ने हतारको यात्रा गर्दा देश समय अनुकुल उन्नतिको खुट्किलोमा चड्न नसकेको सत्यलाई समेत कविताभित्र संकेत गर्न खोजिएको आभाष हुन्छ । शालीन, सभ्य र शिष्ट भाषा शैलीभित्र तयार भएको यो कविता व्यक्ति समाज, र देशभित्र रहेको विकृति अन्त्यको कामना पनि हो ।
