सवै पक्ष एकजुट भएर दुव्र्यसन हटाऔं
लागू पदार्थ दुव्र्यसनीहरूको बढ्दो अवस्थाबाट समाज प्रताडित हुँदै गइरहेको छ । त्यसको घातक दुष्प्रभाव नेपाल र नेपाली समाजमा तीव्र गतिमा बढीरहेको छ । कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागूऔषधको प्रकोप प्रवेश गर्यो भनेर एकिन गर्न नसके पनि नेपालमा लागूऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई दुव्र्यसनी बनाउने काम विदेशी पर्यटक आगमन बढेसंगै स्थापित भएको मानिन्छ । विदेशी पर्यटक सहज आवत जावतको वातावरण बनेपछि यो विनाशकारी कुलतले देशको भविष्यका कर्णधार युवा पिँढीलाई मानसिक रूपमा नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो छ । सही समयमा लागूऔषध दुव्र्यसनका बारेमा सही जानकारी नभएको कारण धेरै युवा युवतीहरू लागू औषध दुव्र्यसनको लतमा फसेका छन् ।
ड्रग्स माफियाहरू आफ्नो संञ्जाल फिजाउनका लागि गाउँ समाज हुँदै विद्यालय तहसम्म डुलन्ते विक्रेता खटाएर अरबौंको व्यापार गरिरहेका छन् । खासगरी १५ देखि १९ वर्ष उमेर समूहका किशोर—किशोरीलाई लागू पदार्थको दुव्र्यसनमा फसाउन सफल भएका माफियाहरूले आफ्नो कालो व्यपार फष्टाउन सफल भइरहेको अवस्था छ । यसलाई रोकथाम गर्ने आवश्यकता दुव्र्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भए पनि समाज र राष्ट्रको नेतृत्व गर्ने सरकारी अगुवाहरूको प्राथमिकतामा नपरेका कारण लागूऔषध कारोवार तीव्र गतिमा बृद्धि भइरहेको छ ।
लागूऔषध प्रयोगका कारण विनाशतिरको गन्तव्य तय गरिरहेको युुवापिँढीलाई यो विनासकारी सङ्क्रमणरूपी डढेलोमा होमिनबाट जोगाउन सकिएन भने भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ नबन्ला भन्न सकिने अवस्था छैन । लागू पदार्थको जीवनघाती कुलतमा फँसेका छोराछोरीका अभिभावकहरूका पीँडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि आफ्नो सन्तान त्यस्तै हुने हो कि भनेर समाजमा संत्रस्त छन् । रक्सीबाट सुरू हुने लागु पदार्थको दुव्र्यसन चरेस तथा हिरोइनमा गएर जीवनकै अन्त्य हुन्छ । विनाशकारी आचरण बनाएर जीवन लीला समाप्त पार्ने युवा युवतीको संख्या दिनदिनै बढ्दै जानु देशका लागि भविष्य अन्धकार हुनु हो । दुव्र्यसनको कारण आर्थिक, सामाजिक र पारिवारिक विचलन समेत भोग्नु पर्छ । एउटा व्यक्तिको गलत आचरणले सयौं व्यक्तिमा नकारात्मक प्रभाव व्यहोर्नु पर्ने हुन सक्छ । यस सत्यलाई बुझेर समाज र राष्ट्रको अगुवाइ गर्नेहरूले नियन्त्रणका लागि कठोर कदम चाल्नै पर्ने अवस्था आइसकेको छ ।
लागू पदार्थका कारण देशका ७७ वटै जिल्ला प्रभावित भए पनि पूर्वको सभ्य नागरिकको बस्ती समेटिएको झापा पछिल्लो दशकयता निकै आक्रान्त छ । भारतसित खुल्ला सिमाना जोडिएको झापा लागू पदार्थ ओसारपसार गर्ने सहज मार्ग बनाएर कारोवार गर्नेदेखि प्रयोग गर्ने दुव्र्यसनीसम्मको संख्या उच्च भएको जिल्लामा झापाको परिचय परिवर्तन हुँदै गइरहेको छ । छिमेकी भारतीय वजारमा नेपाली युवा युवतीले सहजै खरिद गर्न पाउने लागूऔषध नेपालतिर प्रतिबन्धित भए पनि उतै खाएर फर्कने युवा युवतीको संख्या झापामा मात्रै २० हजार बढी रहेको अनुमान छ । हरेक दिन कम्तिमा २ जनादेखि बढीमा ५ जनासम्म लागूऔषध कारोवारको आरोपमा दुव्र्यसनी युवा युवती पक्राउ परिरहेको झापा जिल्लाभित्र ठूलो परिणामको कारोवारी पक्राउ परेको देखिदैन ।
झापाको यस समस्यालाई समाधान गर्न छिमेकी भारतीय सीमा सुरक्षा प्रशासनसित समन्वयन गर्न सके केही न केही प्रगति हुन सक्थ्यो । भारतीय पक्षको एउटा शर्त नेपालतिर खुल्ला रहेको मदिरा नियन्त्रण गर्न सहमत भए भारतिर खुल्ला रहेको लागुऔषध नियन्त्रणमा सहयोग दिने भनिरहेको सुनिन्छ । दुवै देशका सुरक्षा निकायले समन्वय गर्दा लागू पदार्थको दुव्र्यसनीबाट भइरहेका अपराध नियन्त्रित हुने वातावरण बन्थ्यो । सदरमुकाम रहेको भद्रपुर नगर समेत लागूऔषध प्रयोग कर्ता सर्वाधिक रहेको पालिकाको सूचिमा देखिनुले सरकारी संयन्त्रको एक्लो प्रयासले मात्र यो समस्या समाधान हुन सक्दैन भन्ने प्रष्ट हुन्छ । यसैले सवै सचेत नागरिक र सरोकारवाला निकायको प्रयास भए लागूऔषध दुव्र्यसन र विक्रीवितरण न्यून हुँदै जाने छ ।
