शिक्षासमाचारस्थानीय

शैक्षिक वर्ष सुरू नभइ भर्ना अभियानमा विद्यालयहरू

भद्रपुर । विद्यालयले भर्ना अभियान चलाउन शैक्षिक सत्र २०८३ सुरू भएकै छैन तर झापाका अधिकाम्स संस्थागत विद्यालयबाट विद्यार्थीे भर्नाका लागि घरदैलो धाउन तथा अस्वच्छ प्रतिष्पर्धात्क खेल खेल्न थालिसकेको अवस्था छ ।

सरकारले बैशाख १५ गतेबाट मात्र भर्ना अभियान चलाउने र २१ गतेबाट पठनपाठन सुरू गर्ने निर्देशन जारी गरिसकेको भए पनि केही विद्यालयले भर्ना अभियान चलाइरहेका छन् भने केही विद्यालयले चैत्रभित्रै पुनः भर्ना सक्ने भनेर अभिभावकलाई सन्देश पठाइरहेको अवस्था छ । जुन काम सरकारी नियम विपरितको कर्म भए पनि सरकारी संयन्त्रले थाहा नपाएको हो या बेवास्ता गरेको हो ? निजी विद्यालयमा छोरा–छोरी पढाइरहेका एक अभिभावकले गुनासो गरे ।

यो समस्या एक जनाको मात्र होइन, धेरैजसो अभिभावकको हरेक वर्षको समस्या हो । यस्तो कार्यलाई अहिलेको सरकारले सूचना नै जारी गरेर पुनः भर्ना गराएर रकम असुल्नु गैरकानुनी रूपमा संकलन गरिएको शुल्क भनेको छ । त्यस्तो शुल्क अविलम्व फिर्ता गर्नु पर्ने पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा प्रष्ट भनिएको भए पनि निजी विद्यालयहरूले अटेर गर्दै घुमाएर शुल्क असुल्ने अभियान रोकेका छैनन् ।

मापदण्डविपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई मन्त्रालयले आग्रह गरेको छ ।

 

संस्थागत विद्यालयहरूले प्रचलित कानून तथा सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । पुनः २६ चैत्रमा मन्त्रालयले सूचना जारी गर्दै बैशाख १५ देखि २० गतेसम्म भर्ना अभियान र २१ गतेबाट शिक्षण कार्य अगाडि बढाउन निर्देशन जारी गरे पनि पालनाको अवस्था कमजोर रहेको अभिभावकहरू बताउँछन् ।

शिक्षा ऐन (संशोधन सहित), २०२८ को दफा १६६ (६) बमोजिम गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई मन्त्रालयले पुनः निर्देशन दिएको हो । ‘कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको दफा १६६ (७)को प्रावधान तथा अन्य प्रचलित कानुन बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउने सरकारले प्रष्ट पारिसकेको छ ।

शैक्षिक सुधारका लागि झापा सदरमुकाम चन्द्रगढीमा रहेर अभियान चलाइरहेका पूर्व जनप्रतिनिधि समेत रहेका नेत्रप्रसाद पौडेल नुतन विगतका सरकारले नीति नियम भए पनि पालना गराउन सकेनन् तर वर्तमान शिक्षामन्त्रीले शिक्षा सुधारका लागि चालेको कदम स्वागत योग्य रहेको बताउँछन् । पौडेलका अनुसार सरकारी र निजी भनेर व्व्यापारिक चंगुलले विभेदमा परेको शिक्षा समान बनाउन सरकार चुक्नु नहुने धारणा राख्छन् ।

यसैबीच शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ । सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो । केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ ।