समयको माग नबुझी धर्मराएकोे काँग्रेस नेतृत्व
भद्रपुर । विधान अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पदावधि गएको मंसिरमा सकिएको छ । समयमै अधिवेशन गरेको भए यतिबेलासम्म नयाँ कार्यसमिति पनि बनिसकेको वा बन्ने चरणमा हुन्थ्योे होला । अपवादका रूपमा राखिएको विधानमा विशेष र अप्ठ्यारो परिस्थितिमा एक वर्ष म्याद थप्ने प्रावधान पनि छ ।
त्यही प्रावधानलाई देखाएर अझै एक वर्ष जराँइ गर्न पाइन्छ कि भन्दै केन्द्रको कार्य सम्पादन समितिले म्याद बढाउँदै जेठ मसान्तसम्म पुररयाइ सकेको छ तर नीतिगत रूपमा भन्दा कांग्रेसको केन्द्रीय कार्यसमितिको वैधानिकता गुमी सकेको छ । विगतमा जे जस्ता गल्ति भएका थिए सच्चिएर यस पटक समयमै महाधिवेशन गर्न तल्लो तहदेखि महामन्त्रीसम्मले खवरदारी गर्दै थिए । तर, अधिवेशन तयारीका काममा संस्थापन पक्षले नियतवश आलटाल र अटेर गरेर तोकिएको समयमा अधिवेशन नगरी पार्टीलाई विभाजनको डिलमा पुर्याएर छोडेको छ । महाधिवेशन सम्बन्धी विवाद चुलिएसँगै नेपाली कांग्रेस ठूलो विग्रहउन्मुख बनेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनले कांग्रेस नफुट्ने दाबी गरिरहेका छन् भने संस्थापन पक्षले भने विभाजनको भय सञ्चार गरिरहेको छ ।
जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको विद्रोह र विध्वंसले नेपालको राजनीतिक धरातललगायत धेरै क्षेत्रमा ठूलो भुइँचालो ल्यायो । समग्र देशको स्थिति र परिस्थितिले कोल्टे फेरेको छ र अवस्था अत्यन्त जटिल तथा गम्भीर मोडमा पुगेको छ । यस्तो संकट सामना गर्न काँग्रेसले पहल र नेतृत्व दिनु पर्ने थियो तर अन्तर कलहमा पार्टीलाई धकेलेर नेतृत्वले जनविद्रोहको समेत उपहास गर्ने दुस्साहस गरेको अवस्था छ । आउँदो निर्वाचनसम्म यही परिस्थितिमा पार्टी अगाडि बढे २०६२÷०६३ मा पूर्व पञ्चहरूको प्रमुख दल राप्रपाको दर्जामा काँग्रेसको हविगत पुग्ने वातावरण बन्दै गएको छ ।
भदौ २३ र २४ गते नव पुस्ताको आन्दोलनको बिध्वम्सात्मक घटनासँगै बहुमतको सरकारले राजीनामा दिएर भाग्नुमात्र परेन जननिर्वाचित संसद् विघटन हुनपुग्यो । राष्ट्रपतिले आवश्यकताको सिद्धान्तको टेको लगाएर अन्तरिम सरकार बनाउँदै अहिलेसम्म संघीय लोकतान्त्रिक व्यवस्था छ भनेर बोल्न सक्ने अवस्था त छ । अन्तरिम सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्य चुनाव गराउने जिम्मेवारी पाए अनुसार चुनावी वातावरण पनि बन्दै जाँदा लोकतन्त्रको मुख्य जिम्मेवार ठान्ने काँग्रेस पार्टी आफै अलोकतान्त्रिक नेतृत्वको चरित्र प्रस्तुत गरिरहेको छ ।
अपध्वस्त सरकारका प्रमुख केपी ओली अध्यक्ष रहेको नेकपा एमाले समेत अन्य दलहरू जस्तै निर्वाचनमा सहभागी हुने सार्वजनिकरूपमै लागिसकेको अवस्थामा काँग्रेस किचलोमा फस्नु यस व्यवस्थाका लागि गम्भीर संकटको संकेत हो । कांग्रेसका महामन्त्री गगन थापाले ‘निर्वाचनमा भाग लिने र निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने’ भनेर सवै दलभन्दा अगाडि काँग्रेसलाई लोकतन्त्रप्रति जिम्मेवार पार्टी भएको संकेत गरेका थिए । तर, पुराना दलहरूप्रति जनमानस असन्तुष्टमात्र होइन आक्रोशित रहिरहेका बेला काँग्रेसले नेतृत्व फेर्न पछाडि हट्नु यस निर्वाचनमा पराजयको बाटो निर्माण गर्नु हो ।
पुराना सोच पालेका नेतृत्वले जनआवाज नसुनेकै कारण राज्यले विद्रोहसँगै अकल्पनीय क्षति व्यहोर्नु परेको थियो । नेतृत्व र नीति नफेरि काँग्रेस लगायत अन्य पार्टीहरू मत माग्न जाँदा यथास्थितिमा पुगे मतदाताले मत नदिनेमात्र होइन लाठो लिएर खेल्ने अवस्था छ । वैधानिकता गुमाएको काँग्रेस नेतृत्वले जनभावना बुझ्न सकेन ।
बाहिरबाट हेर्दा यो नेतृत्व–पुस्तान्तरण विषयले चर्किएको विवादजस्तो देखिन्छ । तर, यो भित्र–भित्रै लोकतान्त्रिक अभ्यास, पार्टीभित्रको विधिको सर्वोच्चता र समयको मागअनुसार आफूलाई रूपान्तरण गर्न सक्ने र नसक्नेहरूबीचको निर्णायक संघर्ष बनेर विशेष महाधिवेशनको आवाज उठेको छ ।
जेनजी आन्दोलनपछि काँग्रेसमा नेतृत्व रुपान्तरणको माग उठ्यो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे । तर, विशेष महाधिवेशन कि नियमित महाधिवेशनको गलफत्तीमा कांग्रेसले बैठक गर्दैमा डेढ महिना बितायो । अन्ततः नियमति महाधिवशेन गर्ने भनेर पुस २७ बाट महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरियो । तर त्यस कार्यतालिकालाई समेत निस्तेज बनाउँदै बैशाखमा सारेर काँग्रेस रूपान्तरणको माग बेवारिसे बनाउन बहुमत जुटेपछि विशेष महाधिवेशनको माहौल खडा भएको अवस्था छ । जसले काँग्रेस सच्चिने नभएर सक्किने बाटोतिर लम्केको देखाउँछ ।
अबको निर्वाचनमा कांग्रेसले जनतामाझ मत माग्न जाँदा नेतृत्वमा फेरिएको अनुहार र आचरणसहित जानुपर्छ । अहिलेकै अवस्थामा रहे काँगेस पार्टी निर्वाचनमा नराम्ररी पराजित हुने निश्चित छ । यसको छनक अघिल्ला निर्वाचनमा नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूले पाएका मतबाट पनि मिलेको थियो । नेतृत्वले अहिलेसम्म त्यस सत्यलाई पत्याएकै छैन । पुषमा गर्ने भनिएको महाधिवेशन बैशाखको अन्त्यमा सार्दैमा काँग्रेसले चुनाव जितिहाल्छ भनेर बहुमत पुर्याउने धेरै पदाधिकारीले यस निर्वाचनमा जमानत जफलतको अनुभव बटुल्नु पर्ने दिन पनि आउन सक्छ । देश र नागरिक स्वतन्त्र हुने इतिहास बनाएको पार्टी नेतृत्वकै कारण समापनको डिलमा अडिनु सुखद संकेत होइन ।
