पूर्व—पश्चिम राजमार्गको काम छिटो गर
सम्पादकीय
नेपाललाई एसियन हाइ वे मा जोड्ने गरी स्तरीकरण भइरहेको पूर्व—पश्चिम राजमार्गको पूर्वी खण्डको काम सुस्त गतिमा चल्दा आसपासका बासिन्दा प्रदुषण र दुर्घटनाको चपेटामा परिरहेका छन् । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा काम अझ ढिलो भएकै कारण बढ्दै गएकोे सवारी दुर्घटना तथा प्रदुषण नियन्त्रण गर्न सरोकारवाला निकाय सफल नहुँदा स्थानीयवासीले समस्यामा अल्झनु परिरहेको अवस्था छ ।
तीन वर्षे म्याद पाएको ठेकेदार कम्पनीले करिव दुई वर्ष पूरा गर्न लाग्दा पनि एसियन हाइवेको काँकडभिट्टा– लौकही सडक अन्र्तगत पूर्वी खण्डको काम एक तीहाई समेत पूरा नभएपछि सडक निर्माण थालिएयता उत्पन्न प्रदुषण नियन्त्रण हुनु पर्ने आवाज उठ्न थालेको पनि एक वर्ष बढी भइसकेको छ ।
काँकडभिट्टादेखि केर्खा सितापुरीसम्मको ४५ किलोमिटर सडक एभ्रास्कोन– कालिका जे.भी.ले १० अर्ब ६ करोड रुपैयाँमा ठेक्का लिएको देखिन्छ । ठेकेदार कम्पनीले २०८० माघ १९ गतेदेखि काम शुरु गरेको भए पनि हालसम्म भौतिक प्रगति ३१ प्रतिशत हाराहारी र आर्थिक प्रगति २५ प्रतिशत भएको काँकडभिट्टा– लौकही सडक आयोजना पूर्वी खण्डको कार्यालयको विवरणले देखाउँछ । सडक निर्माणका क्रममा पानी नहाल्दा कहिले धुलोले यात्रु हैरान छन् त कहिले सडकमा पानी धेरै हुँदा दुई पांग्रे सवारी साधन चिप्लिएर हैरान छन् । सडकमा बनाइएका डाइभर्सनले पनि दुर्घटनाको जोखिम बढाइरहेको अवस्था छ ।
आगामी असारसम्म ३० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र गर्ने आयोजनाको लक्ष्य रहे पनि हालसम्म ५ किलोमिटरमा मात्रै कालोपत्र भएको देखिन्छ । दुई लेनमा मात्रै रहेको कालोपत्रले लक्ष्य धान्ने अवस्था छैन ।
पूर्वी खण्डमा कनकाई, निन्दा र बिरिङ नदीमा पुल निर्माणको कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ९७ करोडमा ठेक्का लिएका हो भने सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको छ ।
यसैगरी, पश्चिम खण्डका रूपमा विभाजन गरिएको झापाको सितापुरीदेखि सुनसरीको लबिपुरसम्म ५० दशमलव ७६ किलोमिटर सडकमा पनि अपेक्षा अनुसार प्रगति देखिदैन । झापामा १० किलोमिटर, मोरङमा ३५ किलोमिटर र सुनसरीमा ५ किलोमिटर सडक क्षेत्रमा पर्ने पश्चिम खण्डमा ३ वटा प्याकेजमा ठेक्का लगाइएको थियो । पहिलो प्याकेजअन्तर्गत सडकको ठेक्का मात्र लगाइएको छ भने चौथो प्याकेजअन्तर्गत ३०० मिटरभन्दा लामा तीनवटा पुलहरू निन्दा , बिरिङ र कन्काईको ठेक्का लगाइएको देखिन्छ ।
५ अर्ब ९७ करोड रुपैयाँमा कोभेक–क्रेजसी–टुन्डी जेभीले ती तीनवटा पुलको ठेक्का पाएका छन् । दुवै ठेक्काको संझौता मिति २०८० कात्तिक २ गते र निर्माण सम्पन्न गर्नुपर्ने मिति कार्य प्रारम्भ मितिबाट ३ वर्षभित्र रहेको भए पनि भौतिक प्रगति हेर्दा २२ प्रतिशत मात्रै भएको देखिन्छ । निर्माण जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम नगर्दा आसपासका बासिन्दा धुलो र हिलोबाट प्रताडित छन् भने यात्रा गर्ने यात्रु जोखिम मोलेर हिड्नु पर्ने बाध्यतामा छन् ।
राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको यस सडकभित्र एक सय ४३ वटा कल्भर्ट छन् । अधिकाम्स कल्र्भट निर्माणका चरणमै रहेका कारण सडक यात्रामा कष्टकर तथा जोखिमपूर्ण रहेको यात्रुहरूको गुनासो छ ।
यी सवै समस्या हल गर्ने नियामकका रूपमा रहेको सडक निर्माण आयोजना कार्यालयले सही गतिमा अनुगमन र नियमन गर्न नसक्दा सडक समयमा निर्माण सम्पन्न नहुने तथा स्थानीयले धरलो र हिलोको समस्या भोग्नु पर्ने अनि सडकका यात्री दुर्घटनामा पर्नु पर्ने अवस्था छ । यस अवस्थाको निराकरण गर्न सरकारी संयन्त्र जिम्मेवार हुनै पर्छ र निर्माण समय किटेर जिम्मा लिने निर्माण कम्पनीलाई सही तरिकाले काम सम्पन्न गर्न बाध्य पारिनै पर्छ अनि मात्र एसिन हाइवेको रूपमा पूर्व—पश्चिम राजमार्ग निर्माण सम्पन्न हुन्छ ।
