समाचारस्थानीय

भद्रपुरमा बुद्ध एयरको विमान दुर्घटनाग्रस्त, ६ यात्रु सामान्य घाइते

भद्रपुर । बुद्ध एयरको कल साइन U-4901 रहेको विमान आज दुर्घटनाग्रस्त भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँबाट साँझ ७ बजे उडान तालिका रहेको उक्त विमान ८ बजेर ११ मिनेटमा उडेको थियो।

काठमाडौँबाट भद्रपुर विमानस्थलतर्फ आउँदै गरेको विमान राति ९ बजेर ६ मिनेटमा अवतरण गर्ने क्रममा निर्धारित अवतरण स्थानभन्दा केही अगाडि पुगेपछि ओभरसुट हुँदा धावनमार्ग पार गर्दै करिब ३०० मिटर पूर्वतर्फ रहेको घासे मैदान हुँदै खाल्डोमा पुगेको हो।

विमानमा चार जना चालक दलसहित कुल ५५ जना सवार थिए। दुर्घटनामा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने अन्य सबै यात्रु सकुशल रहेका छन्।

विमानमा आगलागी नभएकोले सम्भावित गम्भीर क्षतिबाट जोगिन सकिएको र स्थिति नियन्त्रणमा रहेको सम्बन्धित निकायले जनाएको छ। विमानका चालक सामान्य घाइते भई उपचारका लागि अस्पताल लगिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।