लेख

तीज मौलिक संस्कृतिक पर्व

इन्द्रप्रसाद ओली

वैदिक सनातन हिन्दु धर्ममा आस्था राख्ने महिला दिदी बहिनी हरुले सनातनकाल देखि नै माइती र चेलिको सम्बन्धलाइ समधुर र सहृदयताको भाव राख्दै , मनाउदै आइएको एक मौलिक पर्वहो । यो पर्व सनातन हिन्दु धर्ममा आस्था राख्ने दिदी बहिनी हरुले मात्र नभएर नेपालमा बसोवास गर्ने वा नेपाली मुलका मानिसहरु वसोवास गरिएका विस्वका धेरै देशहरुमा यो पर्व मनाइन्छ । यश पर्वले विशेषत दिदी बहिनिहरुको मौलिकता स्वतन्त्रता र आफुमा भएका दु: ख बेदना एवम शुखलाइ साटासाट गर्ने थलोको रुपमा रहेको पाइन्छ । समतामुलक रुपमा सबै दिदी बहिनी हरुको साझा चौतारिको रुपमा तिज स्थापित हुनु आफैमा राम्रो पक्ष छ ।

हरितालिका तिज भाद्र शुक्ल प्रतिपदादेखि शुरु भइ पञ्चमीको पुजा सँगसँगै समाप्त हुन्छ । यस पर्वका मुख्य दिनहरुमा दर खाने दिन, हरितालिका तीज, गणेश चतुर्थी र ऋषि पञ्चमीलाई लिइन्छ।

समग्रतामा यस पर्व खानपिन, व्रत र उपवास र स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा केन्द्रित छ । आमा दिदी बहिनिहरुले आफ्ना भोगाइ पीडा अनुभुतिहरुलाइ ठाउँ विशेष अनुसार मारुनी, संङ्गिनी , लोकलय भाकाहरुमा गित गाउने , नाच्ने , नाटक अभिनय जस्ता विषय पस्केर महिला शसक्तिकरणमा ठूलो टेवा पुगेको छ। हरितालिका तिज सम्बन्धिका विज्ञ मान्यजन बोलाइ कथा प्रवचन सुन्ने मिठा मिठा मिष्ठान्न भोजन खाने गरिन्छ । नयाँ नायाँ वस्त्र र गरगहना पहिरिने लगायतका विषयहरुले बाहिरी रौनकता निक्कै नै बढाएर यसको प्रभावकारितालाई उत्कर्षमा पुर्याएको पाइन्छ ।

तीज पर्वमा विवाहित दिदिबहिनीहरुलाई माइती लिन जाने गरिन्छ । तिज मा लिन नजाने निम्ताको सन्देश नपठाउने दाजुभाइ प्रती दिदी बहिनी हरु दु: खि हुने र भाइटीकाको दिन स्वतः स्फुर्त रुपमा दाजुभाइ भएकोठाउँमा नजाने वा निम्ताको सन्देश नपठाउने दिदीबहिनीहरुको शान्दर्भिकता हुँदैन भन्ने आम बुझाइले विवाहित नारीहरु र उनीहरुको माइतीघर सँगको सामिप्यता बढाउन मुख्य भुमिका खेलेको पाइन्छ । वास्तविक तिजमा दिदी बहिनिहरुको उपस्थिती रहेन भने वर्ष भरी नै घर अन्धाकारमय हुन्छ । यसरी माइती र चेलिको समन्ध रहदाँ घर परिवारमा उर्जा भावनात्मक सम्बन्ध बलियो हुन्छ भन्ने समेत मान्यता रहदै आएको छ ।

दर खाने दिन

दर खाने दिन तीज पर्वको पहिलो दिन हो । यस दिनमा विवाह भई घर गएका विवाहित दिदिबहिनीहरु र घरमै रहेका अविवाहित दिदिबहिनीहरुलाई एकैठाउँमा भेला गराई दाजुभाइहरुले यथाशक्य मिठा र मिस्ठान्न भोजनहरु खुवाउने चलन छ । बिहान देखि दिउँसो हुँदै साँझ सम्म मिठा–मिठा परिकारहरु तयारीका साथ खुवाउने र खाने काम हुन्छ। यस दिनको मध्यराती वा अर्को दिनको उज्यालो हुनु अगावै खिर, खाजा, ढकनी , दूध, दही र फलफुल लगायतका परिकारहरु खाने र खुवाउने चलनलाई दर खाने भनेर बुझिन्छ । यस दिनमा(दर खाने दिनमा) धेरै परिकारहरु ग्रहणगरिने हुँदा हरितालिका तिजको दिनमा निराहार व्रत बस्दा समेत केहि असजिलो महशुस नहुने बुझाई रही आएको छ ।

हरितालिका तीजको दिन

हरेक बर्षदर खाने दिनको भोलिपल्टको दिनलाइ हरितालिका तीजको रुपमा मनाउने गरिन्छ । यस दिनलाइ तीज पर्वको दोस्रो महत्त्वपूर्ण दिनको रुपमा लिइन्छ । हरितालिकाको अर्थ मातापिता र बासस्थानबाट छुट्याई साथीहरुले सुटुक्क अन्यत्र लगिएकी नारी र कन्या भन्ने बुझिन्छ । सतिदेविले आफ्नो बाबू दक्षप्रजापतिको हवन कुण्डमा प्रवेश गरि शरीर त्याग गरेपछी पुनः पार्वतीको रुपमा पिता हिमालय पर्वत र मेनुकाको कोखमा जन्म लिनुभएको पाइन्छ । जन्मपश्चात् पार्वतीले सानै उमेरदेखि शिवजी पति पाउनको लागि ध्यान तपस्या गर्दथिन् । शुक्लपक्षका चन्द्रमाझै बढ्दै गएकी, कान्तिवाली सबै लक्षणले युक्त कन्या देखेपछि नारद ऋृषिले विष्णु भगवानसँग पार्वतीको विवाह हुन योग्यभएको बताएपछि सो कुराको सुइँको पार्वतीले पाएपछि आफ्नो अन्तरमनको वेदनासाथीहरुलाई बताउनु भएको पाइन्छ ।
तत्पश्चात् साथीहरुले पार्वतीलाई सुटुक्क जङ्गल तिर लगेको, त्यही एकान्तमा पार्वतीले शिवजीको पुजा र तपस्या गर्नु भएकोप्रसङ्ग पाइन्छ । यसरी अभिष्ठ उद्देश्यले पानी पनि नखाई कठोर तपस्या गर्दा भगवान विष्णु स्वयम् उपस्थित भई शिवजी पति पाए, तथास्तु भनि बरदान दिनु भएको र त्यही शिवजी उपस्थित भई व्रतपूर्ण गराइदिनुभएको प्रसङ्ग बिभिन्न कथाहरुमा उल्लेख छ ।

 

यसरी पार्वतीको पहिलो जन्ममा पनि शिवजी नै पति हुनुभएको र यस जन्ममा पनि शिवजीप्रति नै कृतशङ्कल्पित भइ आफ्नो अभिलाषालाई यथार्थमा बदल्नु सनातन पुर्णताको लक्षण हो । आजभोलि पनि प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीहरु सयौं जुनीसँगै हुन पाउँ भनि कामना गरेको पाइन्छ । यसै प्रसङ्गमा विवाहित महिलाहरु आ–आफ्ना पतिको सुख–सुविधा, दीर्घायु एवम् सफलताको कामना गर्दै व्रतबस्ने, यदि व्रत बस्न नसक्ने भएमा पुरुषले सहयोग गरिदिने र विवाह नभएका कन्याहरु असल वर ( पति) प्राप्त होओस् भन्ने उद्देश्यले व्रत बस्ने यस प्रचलनको धार्मिक एवम सांस्कृतिक महत्व रहेको पाइन्छ ।यो क्रम क्रमिकरुपमा अनन्तकालसम्म चलिनै रहने छ ।

 

यस दिन तीजपर्व विशेषका भाकाहरुमा नाच गान गर्दा आफ्ना वर्षभरीका सुख दुखका भोगाइहरु व्यक्त गर्ने प्रचलन परापुर्व कालदेखि चली आएको पाइन्छ । यस दिनको बेलुका पख मन्दिरमा गई वा आ–आफ्नो घरमा नै शिव पार्वतीको पुजा गर्ने प्रचलन पनि छ ।

गणेश चतुर्थी

यस प्रसङ्गमा पार्वतीले प्रसव बेदना रहित पुत्र प्राप्त गर्ने अभिलाषा राख्नु भएको र महादेवले बिना गर्भधारण एवम् प्रसव वेदना रहित उक्त अभिलाषा पूरा गराइदिँदा पार्वतीको कोखबाट गणेश भगवानको उत्पत्ति भयो भन्ने मान्यता रहेको छ ।
पार्वतीको कोखबाट उत्पत्ति भएपछि गणेशभगवानको मुख हेर्न सबैजना गएको, शनिश्चरले पनि हेरेको र उहाले हेर्ने वित्तिकै शिर अलग भएको प्रसङ्ग पनि शास्त्रमा उल्लेख गरेको पाइन्छ भने, कतै प्रवेशद्वारमा खडा भएका गणेशले महादेवलाई भित्र पस्न छेक्दा महादेवले नै उनको शिर छेदन गरिदिएको प्रसङ्ग समेत पाइन्छ । पुत्र वियोगमा विलाप गरेकी पार्वतीबाट सबै कुरा थाहा पाएपछि पार्वतीलाई खुसी पार्न स्वयं महादेवले नै हात्तीको शिर जोडी पुत्र बिउझाइदिनुभएको भन्ने जस्ता कथा प्रसङ्ग आउँछन् । गणेश भगवानको जन्मदिन अथवा प्रदुर्भावको यस दिन व्रत पूजा अर्चना गर्यो भने गणेश प्रसन्न भई मनोकामना पूरा हुन्छ भन्ने विश्वास समेत लिइन्छ ।

ऋषिपञ्चमी 

भद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमीको रुपमा मनाइन्छ । यो तीज पर्वको चौथा दिन हो । यस दिनको पुर्वार्धमाशौचादी कर्म सम्पन्न गरी अपमार्ग(दतिवन)सहित शुद्ध सफा माटो, गाईको गोबर, गहुत आदि सामाग्री लिइ नजिकको खोलामा गई माटो, गोबर, जौ, तिल, कुश मिश्रित पानीले स्नान गरी अपमार्ग टोक्ने त्यसपछि चाल्नेबाट सहस्र धारा बनाई नुहाउने र अन्त्यमा शुद्द सफा वस्त्र लगाई पञ्चगब्य खाएपछि स्नान कार्य सम्पन्न हुन्छ ।
यसरी शुद्ध भई चौरमा भेला भई गीत गाउने नाच्ने चलन छ । यसरी स्नान पुजा आदि गर्दा वर्षभरी जानी नजानी हुन गएका पापहरुको दोष मेटिन्छ भन्ने मान्यता रहेको छ । यस दिनको मध्यान्हमा अरुनधती सहित सप्तऋषिहरु(जमदग्नी, भारतद्वार, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ)को पुजा हुन्छ र यस पछि तिजको व्रत पुरा भएको मानिन्छ । सप्त ऋषिहरुको पुजा गरि हरितालिका तिजलाइ विधाइ गरिन्छ ।

आज भोलि तिजको सान्दर्भिकता अझ बढेर गएको पाइन्छ । तिथि आउनु अगावै देखि विभिन्न सामाजिक संघ संस्था आमा समूह, भजन कृतन समूह राजनिक दल हरुले पनि विशेष चासो राखी तिज मिलन कार्यक्रमको नाम दिएर महिना भरिनै तिज कार्यक्रम गरिने प्रचलन रहन पुगेको छ । स्रोत का अनुसार कतिले यसलाइ धार्मिक महत्व भन्दा पनि आफ्नो अनुकुता बनाउन आमा दिदी बहिनी हरुको भावना लाई आर्क्रशित गर्न खोजिएको देखिन्छ भनी टिप्णी गर्ने गरेको पाइन्छ । विदेश तिर भने आफ्नो अनुकुलता अनुसार विदा को दिन पारी सबै नेपाली दाजु भाइ संङठित भएर मनाउने गरेको पाइन्छ साथै घर घरमा पनि नजिकका आफन्त भेला भै तिज मनाउने गरेको पाइन्छ । आज तिज मनाइ रहदाँ खड्किने कुरा चाहिँ भोलि का सन्ततिले हरितालिका तिज लाई कसरी बुझ्ने हुन भन्ने महत्व पुर्ण रहेको छ । हरितालिका तिज मनाइ रहदाँ यश पर्वको महत्व विषयमा चर्चा नहुनु धार्मिक प्रसङ्ग नकुट्याइनु धार्मिक पक्षलाइ विधि विधानको बारेमा सत्सङ्ग नहुनु मा खिन्नता पाइएको जानकारहरुले बताउने गरेको पाइन्छ ।

कतिपय संस्थाले तिजको नाममा संस्थाको प्रचार कतिपय राजनितिक पाटिले त तिजको नाउँमा जनमत तयार गर्ने पाटी प्रवेश गराउने नाचगान भन्दा पाटिका भाषण र अर्को दललाइ गाली गलौज आरोप प्रत्यारोपले तिज भद्दा हुन गएको छ । यसलाइ सुधार गरि मौलिकतालाई प्राथमिता दिन आवश्यक छ । जहाँ जसरी र अनुकुलता अनुसार मनाए पनि तिज को महत्व लाई ओझेलमा पारी संघ संस्था दलको प्रचार गर्ने शक्ति प्रचार गर्ने अन्य कार्यक्रम थोपारेर तिज लाई प्रयोग गर्नु गलत प्रबृती हो । महिला दिदी बहिनी लाई तिजको बहाना मा भेलाजम्मा गराइ संस्था हरुले यसको नाजायज फाइदा उठाउनु परम्परा रितिरिवाज लाई गलत अर्थ लाग्ने गरि लैजानु हुँदैन । हरेक पर्वको आ आफ्नो विशेषता हुन्छ त्यही अनुसार मनाइनु पर्छ ।

हरितालिका तिज को महत्व जसरी मनाउन हामी उत्साहित छौ त्यतिनै उत्साहित हरेक क्षेत्रमा दिदी बहिनिको सहभागिता पहुँच पुर्‍याउन सके मात्र तिजको उपयोगिता भएको मानिन्छ । हरितालिका तिजको सबै मा हार्दिक शुभकामना , चेतना साहित्य समाज ले तिज लाई तिजको रुपमा मनाउन हार्दिक अपिल समेत गरेको कुरा स्मरण गराउन चाहन्छु । त्यसैले हरितालिका तिज कुनै संस्था दल को प्रचार प्रसारको थलो नभएर मौलिक पर्व हो यो एक जाती वर्ग समुदायको नभएर सबै दिदी बहिनी माइती हरुको हो ।

अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मन्च नेपाल
केन्द्रीय कार्यालय भद्रपुर ७ झापा