श्रम तथा रोजगार अधिकृत नै रोजगारी खोस्ने आरोप खेप्दै
भद्रपुर । भद्रपुर नगरपालिका अन्र्तगत श्रम तथा रोजगार शाखाको नेतृत्व गरिरहेका टिकाराम पाण्डेमाथि रोजगारी खोसेको आरोप लागेको छ ।
पाण्डे सञ्चालक समिति अध्यक्ष रहेको झापाको कचनकवल ६ बनियानी स्थित कचनकवल अग्रेजी माध्यमिक विद्यालयमा दशकयता निरन्तर काम गरिरहेका शिक्षकलाई बिनाकारण निष्काशन गरिएपछि श्रमिकको रोजगार खोसेको आरोप लागेको हो ।
पछिल्लो पटक सामाजिक विषय अध्यापन गरिरहेका पर्शुराम कार्कीलाई पाण्डेको विद्यालयले राम्रो नपढाएको आरोप लगाएर कानुनी प्रकृया समेत मिचेर निस्काशन गरेको थियो । २०७२ सालदेखि सो विद्यालयमा कार्कीलाई माध्यमिक तह अन्र्तगत कक्षा ९ देखि १२ सम्म अध्यापनको जिम्मा दिइएको थियो । अभिभावक र विद्यार्थीले समेत रूचाएका कार्की कचनकवलका स्थानीय समेत हुन् ।
कार्की भने आफूमाथि कपोकल्पित आरोप लगाएर अपमान पूर्वक निष्काशनको दण्डा चलाइएको बताउँछन् । उनका अनुसार विद्यालय सञ्चालक समितिका अध्यक्ष टिकाराम पाण्डे तथा प्रिन्सिपल खगेन्द्र पाण्डे समेतलाई कक्षा ८ सम्म पठाएका थिए । ३० वर्षदेखि शिक्षण पेशामा रहेका कार्कीलाई आफैंले पढाएका छात्रले अपमानपूर्वक कानुनी प्रावधान समेत ख्याल नगरी निष्काशन गर्लान् भन्ने कल्पना समेत नगरेको सुनाउँछन् ।
यता अध्यक्ष पाण्डे भने कार्यसम्पादन मूल्याङ्कनमा कार्की पटक पटक असफल भएकाले निष्काशनमा परेको जनाउछन् । नियुक्ति र अवकाशको नीतिगत पक्षको बारेमा प्रष्ट पार्न नसकेका अध्यक्ष पाण्डेले विद्यार्थीको भलाइका लागि निष्काशनको डण्डा चलाइएको प्रतिकृया दिए ।
यता विद्यालयका सञ्चालकले शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने रकम जम्मानै नगरी राखिरहेकोे रहस्य समेत बाहिर आएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ बाटै सामाजिक सुरक्षा कार्यक्रममा शिक्षक कर्मचारीलाई लगिएको दाबी गरिरहेका विद्यालय सञ्चालक तथा प्रिन्सिपल खगेन्द्र पाण्डेको दाबी आफैमा झुट पाइएको हो ।
यस बारे प्रकतिकृया लिँदा प्रिन्सिपल पाण्डे सामाजिक सुरक्षा कार्यक्रममा कचनकवलबाट प्रवेश गर्ने पहिलो विद्यालय भएको बताउँदै सवै शिक्षक कर्मचारी नसमेटिएको स्वीकार गर्छन् । करिब ३५ जना शिक्षक कर्मचारी कार्यरत विद्यालयमा नियम विपरित दश जना जति सरकारी सेवाका शिक्षक नै कार्यरत रहेको देखिन्छ ।
एकपछि अर्को नियम विपरितका काम भइरहेको विषयमा प्रिन्सिपल पाण्डे भने बाध्यता र जानकारी अभावले गल्ति भएको हुन सक्ने बताउँछन् ।
यस्तै अध्यक्ष पाण्डे भने आफू श्रम तथा रोजगार अधिकृत भए पनि सामाजिक सुरक्षामा जान नपाएको बताउँदै आफ्नो विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको समुन्नत भविष्यका लागि सामाजिक सुरक्षामा जोड्न १५ लाख बढी खर्च गरेको दाबी गर्छन् । तर, विद्यालयमा कार्यरत सवै शिक्षक कर्मचारीबाट सुरक्षा कोषका लागि रकम काटेर राखिएको भए पनि एक तृतियाम्सको पनि सामाजिक सुरक्षा कोषमा प्रवेश पाउन सकेका छैनन् ।
